नेपाल बन्दको प्रभाव सामान्य : बन्द गराउँदै हिँड्ने ठाउँ-ठाउँबाट पक्राउ

काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको विरोधमा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत ६ राजनीतिक दलले आह्वान गरेको बन्दको प्रभाव सामान्य देखिएको छ।

काठमाण्डौ उपत्यका सहित देशका अधिकाशं सडकमा निजीदेखि सार्वजनिक सवारी चलेका छन् । तर साविकको भन्दा केही कम सवारी चलेका कारण यात्रुलाई भने समस्या भएको छ ।

बन्दको आह्वान भएपछि मङ्गलबार नै गृह मन्त्रालयले प्रहरी कार्यालयलाई प्रचार गर्दै शान्तिसुरक्षा कायम राख्न निर्देशन दिएको थियो । त्यसैले पनि काठमाडौं उपत्यकाभित्र साबिकको भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

आज बिहानसम्म काठमाडौं उपत्यकाबाट बन्द गराउँदै हिँडेका ४० भन्दा बढी बढीलाई नियन्त्रणमा लिएको छ । यता बजार र यातायात बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादी क्रान्तिकारीका ९ जना कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारीका क्रमश: चार र तीन जना तथा वैज्ञानिक समाजवादीका दुई पक्राउ परेका हुन् । नेकपा जिल्ला सदस्य नविन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । प्रहरीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।