लण्डन । नेपाली जनप्रगतिशील मञ्च युरोपले २७ औ जनयुद्ध दिवस विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट फागुन १ गते (फेब्रुअरी १३)का दिन सम्पन्न कार्यक्रममा युरोपभर रहेका मञ्चका राष्ट्रिय समितिहरुको सहभागिता रहेको थियो ।
मञ्चका यूरोप सचिव तथा कार्यक्रम संचालक रण बहादुर खाती क्षेत्रीले जनयुद्ध दिवसको बारेमा संक्षिप्त भनाइ राख्दै कार्यक्रमको सुरुवात गरेका थिए भने मञ्च युरोपका प्रवक्ता सागर पोख्रेलले सहभागीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जनयुद्धले दिलाएको ऐतिहासिक उपलब्धी अझै पनि संस्थागत हुन नसकेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली जनप्रगतिशील मञ्च बेलायतका महासचिव बिमला लिम्बुले जनयुद्धले प्राप्त गरेको उपलब्धीको सम्मान हुन नसकेको बताईन् ।
त्यस्तै सुकमान लामाले शहिदहरु र माओले देखाएको बाटोमा निरन्तर हिड्नुपर्ने धारणा व्यक्त गरे भने मञ्चका बेल्जियम राष्ट्रिय समितिकी महिला संयोजक शुष्मा भुषालले युद्धमा परेर निधन भएका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुप्रति उच्च सम्मान प्रकट गरिन ।
डेनमार्कका संगठन बिभाग प्रमुख उदयराज गौतमले संसदीय व्यवस्थाका कारण देश खाडलमा गइरहेको धारणा राख्दै जनयुद्धमा घाइते र बेपत्ता भएकाहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताईन् ।
सोही अवसरमै बेल्जियमबाट कार्यक्रममा सहभागी भएकी नेतृ कल्पना मगरले माओवादी केन्द्रले जनयुद्धबाट प्राप्त गरेका उपलब्धीहरुको रक्षा र संस्थागत गर्दै पार्टीको तर्फबाट भएका कमीकमजोरीलाई समीक्षा गर्दै अगाडी बढ्न नेताहरुलाई आग्रह गरिन् । स्पेन समितिका पूर्वमहासचिव गंगा भुषालले शहिदका सपनाहरु पूरा गर्न नेतृत्व पक्षलाई घच्घचाउनुपर्ने आवश्यक्ता भैसकेको बताए भने बेल्जियमबाट नेतृ निर्मला बजगाईले देशलाई बन्धक बनाएर राख्नेहरुलाई परास्त गर्दै जनयुद्ध दिवसको सार्थकता चरितार्थ गर्नुपर्ने औल्याइन ।
यस्तै नेतृ जानुका धमलाले व्यवस्था परिवर्तन भएपनि जनताको जिवन परिवर्तन हुन नसक्नुमा संसदीय व्यवस्था मुल कारण भएको बताइन । बेल्जियमबाट सहभागी दुर्गाप्रसाद सुबेदी र मनिष गुरुङले ज्यानको बाजी थापेर समाज परिवर्तनका लागि युद्धमा होमिएका योद्धाहरुलाई सम्झदै परिवर्तनको नाममा नेपाली जनता अझै पीडित नै रहेका धारणा राखे ।
यस्तै नर्वेबाट डा. कृष्ण अर्यालले संविधान निर्माणमा माओवादी पार्टीको योगदान स्मरण गर्दै पछिल्लो समय भैरहेको राजनैतिक घटनाक्रम प्रति चिन्ता व्यक्त गरे । मञ्चका पोर्चुगल अध्यक्ष दावा लामाले देशमा सकंट परेमात्रै जनयुद्ध सम्झिने गरेको भन्दै दुख व्यक्त गरे । पोर्चुगल समितिका पूर्वअध्यक्ष राजेन्द्र गौतमले शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जनयुद्धका घाइते योद्धाहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका इन्चार्ज जीतबहादुर लामा , अध्यक्ष प्रकाश पौडेल , चीत्र सुबेदीले सम्पूणर् शहिदप्रति भावपुणर् श्रद्धांञ्जली व्यक्त गरेका थिए भने युकेबाट उपाध्यक्ष शेरसिङ ठकुरी, कृष्ण खनाल, बेल्जियमबाट जित लामा, सुशिला खतिवडा, स्वीजरल्याण्डबाट युवराज फुईयाल, फ्रान्सबाट सुमन पौडेल, जर्मनीबाट गोबिन्द भण्डारी, इटलीबाट रामशरण सिमखडा, डेनमार्कबाट महेन्द्र खड्का, महेस खाती तथा नेदरल्याण्ड्सबाट संघर्ष केसीले जनयुद्धको सार्थकता र वर्तमान अवस्थामा माओवादी पार्टीले निभाउनुपर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले जनयुद्धले नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताजस्ता उपलब्धी हासिल भएको बताए । उनले जनयुद्ध पश्चात शान्ति प्रकृयामा आएपछि माओवादी पार्टीले आफ्ना गल्ती तथा कमिकमजोरीको आत्मसमीक्षा गर्दै व्यापक सुधार गरिरहेको बताउदै अझै यस पार्टीमा आवद्ध सबै सदस्यहरुले राष्ट्रका लागि योगदान पुर्याउन तल्लिन रहनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रवास समन्वय समीतीका सचिव टीबी पाठकले जनयुद्धमा सामेल भएर सहादत प्राप्त गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध दिवसको बारेमा गहन चर्चा गरेका थिए । मञ्चका यूरोप सचिव तथा कार्यक्रम संचालक रण बहादुर खाती क्षेत्रीले जनयुद्ध दिवसको बारेमा संक्षिप्त भनाइ राखेका थिए ।
कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च यूरोपका संयोजक तथा अध्यक्ष सुरेन्द्र भुसालले नेपाल गम्भिर संकटमा रहेको भन्दै सिंगो युरोपका नेपाली जनप्रगतिशील मञ्चका पदाधिकारीहरुले विभिन्न तह-तप्कालाई गोलबद्ध बनाउदै बिशेष भूमिका खेल्नुपर्ने आवश्यक्ता औल्याए । उनले कार्यक्रममा सहभागी भएकोमा सबैप्रति आभार व्यक्त गरे ।






