आन्दोलनका कार्यक्रम फिर्ता लिइयोस्

नेपाली कांग्रेस र एमालेका सभासदहरुले संविधान जारी गर्ने बेलामा आन्दोलनतर्प नलाग्न एकीकृत माओवादी नेतृत्वको मोर्चालाई आग्रह गरेका छन् ।
संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफलका क्रममा मंगलबार उनीहरुले आन्दोलनका कार्यक्रमले संविधान निर्माणमा अवरोध उत्पन्न गर्ने बताए ।
कांग्रेसका सभासद प्रकाशशरण महतले संविधानका अन्तरवस्तुमा छलफल गर्नुको साटो विपक्षीहरु वार्ताबाट भागेको आरोप लगाए । उनले सरकारमै रहेका केही दलका कारण सहमति हुन नसकेको आरोप समेत लगाए ।
एमाले सभासद अमृतकुमार बोहोराले उत्तेजनामा आएर आन्दोलनतिर नलाग्न एमाओवादी नेतृत्वको मोर्चालाई आग्रह गरे । आन्दोलन गर्न सजिलो छैन भन्दै उनले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्नुपर्नेमा समेत जोड दिए । एकीकृत माओवादीका सभासद धनिराम पौडेलले दुई तिहाइको बलमा संविधान जारी गर्छु भन्नु नै सहमतिको बाधक भएको बताए ।