काठमाडौँ, ३ फागुन । राजनीतिक दलका लागि सङ्क्रमणकाल सत्तामा पुग्ने र सत्ता लम्ब्याउने बहाना बनिरहेको आरोप सहभागी वक्ताले लगाएका छन् ।
नागरिक प्रतिरक्षक समूहद्वारा आज यहाँ आयोजित भेलामा उनीहरुले जनतालाई लोकतन्त्रको अंशियार बनाउने र त्यसको लाभांश दिने हो भने अब कुनै बहानाबाजी र आलटाल नगरी चुनावको मिति घोषणा गर्न माग गर्नुभयो ।
समूहका संयोजक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले दलका धेरै बैठक उत्पादनमूलक नभएको र त्यसका नेताले जति नै ठूला माला लगाए पनि उनको कद बढन नसकेको चर्चा गर्दै “चुनाव नहुने हो भने संविधान ल्याउनुको के अर्थ रहन्छ र ? भनी प्रश्न गर्नुभयो ।
“अहिले दल बलियो, लोकतन्त्र कमजोर भएको छ, चुनाव गर्ने निकाय, जनशक्ति र बजेट छ भने मिति तोक्न केले अड्कियो त ?” उहाँले भन्नुभयो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले संविधानसभाले संविधान दिए पनि नेतृत्व गर्नेले मुलुकलाई सही मार्गमा हिँडाउने प्रयत्न नगर्दाको परिणाम राजनीतिकले स्थायित्व र सरकारले स्थिरता पाउन नसकेको टिप्पणी गर्नुभयो ।






