
नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक एक स्वतन्त्र राज्य हो । यसले विगतदेखि नै साम्राज्यवादसँग मुकाविला गर्दै आएको छ । राम्रो वस्तु वा व्यक्तिमा सबैको आँखा पर्नु स्वभाविकै हो तर त्यस वस्तुका मालिक नालायक र कमजोर भएकाले त्यसको अस्तित्व अरूको दासत्वमा पुग्न सक्छ । विगतदेखि राव्यसत्तालार्इ सत्तो सराप्ने प्रजातन्त्रवादीहरू वैयक्तिक स्वार्थ र परतन्त्रको स्वार्थमा लिप्त बनेको देख्दा राष्ट्रियता चाहनेको हृदय छिया छिया बनेको छ ।
नेपाल एक बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको मुलुक ठूलो संघर्षबाट बन्न पुग्यो । कागजमा मात्र छापेर र लेखेर त्यो मुलुक गणतन्त्रात्मक बन्दैन । त्यसका लागि राज्य र सञ्चालनको व्यवहारमा परिवर्तन हुनुपर्छ । विगतलार्इ लाल्छना लगाउने राज्यसत्ता तथा नेतृत्व पङ्ति अहिले अएर नाङ्गो बन्न पुगेको कटु यथार्थ हाम्रो अगाडि ताजा बनेको छ ।
भाइ फुटे गवँर लुटे भन्ने प्राचिन भनाइ अहिले आएर चरितार्थ बन्न पुगेको छ । अर्काको जुठोमा रजाइँ गर्ने राष्ट्रघातीले राज्यलार्इ अहिले धार्मिक परिवर्तन र राजनीतिक दाउपेचबाट जुटाउने होइन फुटाउने रणनीतिमा लागेको देखिन्छ । वैयक्तिक प्रलोभन र स्वार्थ देखाएर लालीपप चखाउनेदेखि होसियार बन्नुको सट्टा भात भान्साको भण्डारण, छात्रवृत्तिको ढोङ पेन्सनको व्यवस्था, संघीयताको सङ्खघोष र दुतावासबाट प्राप्त हुने टिएडिएको व्यवस्थाले हाल राष्ट्र प्रश्रव पीडामा पुगेको छ । राष्ट्रका नाममा पीडाको सन्देश दिन नसक्ने सरकार र पदीय लोलुप्तबाटओतप्रोत भएको प्रतिपक्षबीच अव संसदमा तान्डव नृत्यको श्रीगणेश हुन थालेको छ ।
राष्ट्र पीडामा परेको समय एक हुनु त कहाँ उल्टै तेरो र मेरो पार्टी, तेरा र मेरा कार्यकर्ता भनि अव संसदमा नृत्यको आयोजना हुँदै छ । जहाँबाट राष्ट्रिय सर्वहाराको खिल्ली उडाउँदै अन्तरराष्ट्रिय जगतमा आफ्नो नयाँ गणतान्त्रिकपनको पहिचान दिन थालेको छ । एउटा पार्टी, संस्था र घर चलाउन नसक्ने व्यवस्थापन आज राष्ट्र हाँक्न पुगेकाले देश झन् झन् पीडामाथि पीडा थेग्न बाध्य भएको छ । कम्युनिष्टको खोल ओड्नेहरू सामन्ती चरित्रबाट ओतप्रोत हुन थालेका छन् ।
काँग्रेसका प्रवक्ता एकातिर संसदमा अवरोध गर्ने भन्दै आफ्ना कार्यकर्ता र आफ्नो राजनीतिक स्वार्थमा लोलुप छ भन्ने उदाहरण पेश गरेका छन भने सरकारको नेतृत्वमा रहनेहरू आफ्नो राजनीतिक स्वार्थमा हावी बनेका छन । तरार्इको नेतृत्व गर्छौ भन्ने पार्टीहरू आफ्नो हक अधिकार भन्दै राष्ट्रलार्इ दलदलमा पmसाउँदै छन् । यी सबैलाइ कसले सद्वुद्धि दिन्छ ? हामी सर्वसाधारण जनताका लागि यो विषय सोचनीय बनेको छ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले भारतीय विस्तारवादका बारेमा विरोधका साथ भन्डाफोर गर्न खोजेको त देखिन्छ तर संघर्षलार्इ अगाडि लैजान सक्दैन । के यस्तै हो हाम्रो नेतृत्व ? हामी पनि बुद्धु रहेछौँ अनि नालायक पनि । किनकि हामीले राम्रो नेतृत्व रोज्न सकेनौँ । रोजे पनि बिग्रिएर गनाउने भैससक्दापनि खबरदारी गर्न सकेनौँ । यसलार्इ हामी जनताको कामजोरी मान्नु पर्छ ।
आज राज्यमा पीडामाथि पीडा थपिँदै गएको छ । राज्य भन्छ– जनताको दैनिक जनजीविकालार्इ पूरा गर्छौ । व्यापरी नेता भन्छन्– अहिले नगरेको कालोबजारी कहिले गर्ने ? सरकार भन्छ–व्यवस्थापनमा तल्लीन भयौँ । त्यसैले भ्रष्टचारी मौलाए । खै सरकारले भ्रष्टचारी र काला बजारीलाई कारवाही गरेको ? डिजेल पाउँछन् रे ! तर साधारण जनताको विचल्ली भएको छ । प्रहरीमा रही फुली लगाउने र सेनामा रही सीमा रक्षाको वकालत गर्ने आज तेल धन्दाको पगरी गुथ्न थालेको समाचार बनेको छ । उद्योग मन्त्रालय र आयल निगम कति प्रतिशत प्राप्त हुन्छ भन्दै दिन गन्छन् । एक मन्त्री दौडेर के गर्ने ? प्रतिपक्षी फाइदै फाइदाको जालो बुन्नमा व्यस्त छन् । खै जनताको समस्या बुझेको ? के यही हो जनताको नेतृत्व गर्ने नेताको दायित्व ? भारतले नाकाबन्दी लगायो । यो एक हिसाबले ठीक मान्नु पर्छ किनभने टुँडो मात्र बजार्ने हामी अल्छीलार्इ सजग गराउने अवसर हो । गान्धीले भारतमा नाकाबन्दी गर्दा के गरेका थिए ? यदि राष्ट्रियता बोकेका नेता, बुद्दिजीवी, जनता र दल छन् भने यो बेला तान्डव नृत्यमा भाग लिने र हेर्ने समय होइन । यो बेला त भ्रष्टचारी खोजी गरी कारवाही गर्ने, कालोबजारी नाङ्गे झार पार्ने, धर्म परिवर्तन गराउँदै हिड्नेलार्इ जनकारवाही गर्ने, राजनीतिक फुट गराउने दलालको पहिचान गर्ने, आफ्नो देशको स्रोत साधनको उपयोग गर्ने, युवा वर्गलार्इ उत्साहित गरी श्रमदानमा लगाउने, पुलिस सेनालार्इ सेवा र विकास निर्माण कार्यमा खटाउने, सर्वसाधारण जनताको पीर मर्का बुझ्ने बेला हो ।
हाम्रा सञ्चारका माध्यमबाट तान्डव नृत्यको शंखघोष गर्दा राष्ट्रियता चाहने जो कोहीको आत्मा रून्छ । राष्ट्रको यस्तो संकटमा खोइ राष्ट्रिय झन्डा बोकेको ? खोइ संघर्ष गरेको ? खोइ विरोध सभा गरेको ? खोइ अनसनको व्यवस्थापन गरेको ? कहाँ गए ती व्यक्तित्व, पार्टी र संघ संगठनहरू । एक पार्टीको झन्डा हल्लाएको भए दण्डवत् गर्ने र पाउनुपर्नेको भीड हुन्थ्यो । राष्ट्र पीडामा परेको बेला कसले कति संघर्ष गर्यो । अर्काको बहकाउमा लाग्नेले आज राष्ट्रमा आगो बोलेको छ । गरिबको भान्सा सुकेको छ ।
यहाँ प्रहरी जलाइन्छ, मधेसी कुटिन्छ र मारिन्छ । आफू आफूमा कुटामारी गरिन्छ । के यही हो राष्ट्रको स्वाधिनता ? यदि होइन भने राष्ट्रिय स्वाधिनताका खातिर कठोर निर्णय लिनुपर्यो । आपसमा सहमति, सहकार्य र सहअस्तित्वको भावना जगाउन सक्नु पर्यो ।
हाम्रा बुद्दिजीवि नेताका पछाडि र द्रव्यको मातबाटप्रभावित भएर राष्ट्रिय अस्तित्व ओझेलमा परेको छ । आज यिनै कारणले गर्दा मुलुक भासमा गडेको छ । अब हुने संसद बैठकमा राष्ट्र, राष्ट्रियता र जनजीविकाको कुरा उठाइ जनताको मन जित्ने कार्य होस् । यसको अलवा आफ्नै स्वार्थका लागि तान्डव नृत्य नदेखाइयोस् । यदि तान्डव नृत्य देखाइयो भने सञ्चार, बुद्दिजीवि, श्रमिक, मानव अधिकारकर्मी, राष्ट्रभक्त नेपाली, राष्ट्रप्रेमी हिमाल पहाड र तराइस्का बासिन्दाले बहिस्कार गर्नेछन ।
(लेखक बङ्गलामुखी क्याम्पस, ललितपुरका प्र.अ. हुन)






