‘महन्थ ठाकूरले माफी मागेनन् भने राम्रो हुँदैन’:हरिचरण साह

haricharan-shah

तराई– मधेसको अवस्था कस्तो पाउनुभयो ?
हामी मधेसीले निक्कै दुःख पायौँ । हामी कतिदिनसम्म हेपिने भन्ने प्रश्न गर्छन । कतिले त भारततिर गाँसिन पाएपनि सहज जीविकोपार्जन हुनेथियो कि सम्म भन्न थालिसकेका छन् । काठमाडौँमा जस्तो अभाव छ, त्यस्तै अभाव मधेसमा पनि छ । औषधिको हाहाकार छ । मानवताविरोधी काम भइरहेको छ । शासकहरुले छिटो समस्याको समाधान गरेनन् भने जनतामा विखण्डकारी विचार बढ्न सक्छ । मल, डिजेल, पानी जनताले पाउनुपर्ने सुपथ मुल्यका सामान नेपाल र भारतमा फरक पर्छ । बरु भारतमा बस्न पाए हुन्थ्यो भन्ने मानसिकता विस्तार–विस्तारै पलाउँदैछ । यसलाई छिटोभन्दा छिटो रोक्नुपर्छ भन्ने मैले पाएँ ।

त्यसलाई रोक्न के गर्दा उपयुक्त होला ?
सरकार र प्रतिपक्षमा बसेका दलहरु जसले हिजो मिलेर संविधान बनाए, उनीहरु जिम्मेवार बन्नुपर्छ । सीमाङकन ठूलो कुरा होइन ।  ठूलो कुरो हाम्रो देश बचाउँने हो । प्रदेश बाँड्दैमा देश अन्त जाँदैन । देश द्वन्द्वमा जाँदा पूर्व शासकहरुकै टाउँकोमा दोष जानेछ । जनताले छोड्नेवाला छैन । सारा जनताले ‘ग्यास, पेट्रोल लगायत दैनिक उपभोग्य वस्तु सहज रुपमा देउ’ भनिरहेका छन ।  छिटोभन्दा छिटो संविधान संशोधन गर्नुपर्छ । पुनर्निर्माण प्राधिकरण बनाउनुपर्छ र भूकम्पपीडित जनतालाई राहत दिनुपर्छ ।

मधेसयात्राको क्रममा तपाईंमाथि कालोमसो दल्नेको पहिचान गर्नुभएको छ ?
पर्सा, बारा, रौतहट, सर्लाही हुँदै काठमाडौँ आउने क्रममा थिए । स्थानीय रेडियोमा अन्तर्वार्ता दिने क्रममा पत्रकारले ‘मधेस विरोधी संविधानमा किन हस्ताक्षर गर्नुभयो ? भनेर सोधेपछि मैले मधेसका जनतामा ठेस पुगेको छ । संविधान सभामा लड्नका लागि मलाई जनताले भोट दिएर पठाएका हुन । म जनप्रतिनिधि भएको हुनाले गणतन्त्र, लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षता संस्थागत गर्न संविधानमा हस्ताक्ष गरेको हुँ भनेपछि स्थानीय उत्सृङ्खल व्यक्तिहरुले राप्रपा नेपालका अनिल सिंहको नेतृत्वमा रहेकाहरुले दुव्र्यवहार गरेका हुन ।  उनीहरु तमलोपामा प्रवेश गरेको भन्ने सुनेको छु । मैले तमलोपामा उजुरी पनि दिएको छु । तपाईको कार्यकर्ता हुन भने यो के हो ? मधेसको हकहितको लागि मधेसी मोर्चासहित हामी चार दल मिलेर संसद घेरिरहेका छौँ ।
तमलोपाले दश गते बिहानसम्म माफी मागेन भने हाम्रो चार दलीय मोर्चाले सोही अनुसारको व्यवहार गर्नेछ ।

त्यो कस्तो हुन्छ ?
हामी अलोकतान्त्रिक गतिविधि गर्दैनौँ । लोकतान्त्रिक रुपमा नै व्यवहार हुनेछ । हामी त लामो समयदेखि मधेस आन्दोलनमा छौँ । तमलोपाका नेताहरु कहिले आन्दोलनमा आएका हुन भन्नेकुरा सवैलाई थाहा छ । उपेन्द्र यादव र हरिचरण साहले मधेस आन्दोलन सफल पारिसकेपछि अरु अन्य पार्टीबाट आएका हुन । कांग्रेसबाट छाडेर आउने महन्थ ठाकूर, एमालेबाट आउने महेन्द्र यादव, राप्रपा छोडेर आउने सर्वेन्दनाथ शुक्लाहरुको इतिहास सवैलाई थाहा छ ।  मधेस आन्दोलमा यस्ता कुतत्वहरु प्रवेश गरिसकेपछि कमजोर हुनेनै भयो ।  मधेसी जनताहरु अधिकारबाट बञ्चित हुनेछन । आन्दोलन लम्बिने छ । जनताले न्याय पाउने गरी महन्थ ठाकूरजीले काम गर्नुभएको होला ।

मधेसी मोर्चासँग सरकारको सहमति भयो भने मधेसी जनताले मान्छन ?
जनताले आन्दोलन चाहेका छैनन । उनीहरुले शान्ति चाहेका छन । तर अधिकारबाट बञ्चित गराएपछि आन्दोलनको विकल्प पनि त भएन ? जस्तो सुशील कोइरालाजीले संसदमा संविधान संशोधन विधेयक दर्ता गराउनुभएको छ । मैले पनि संशोधनप्रस्ताव दर्ता गराएको छु । संसदमा दुवै प्रस्ताव जाला । यदि हरिचरण साहले दर्ता गराएको प्रस्ताव पारित भयो भने कुनैपनि मधेसी, पहाडी र हिमाली विरोध गर्ने छैनन । तमाम मधेसी जनताको जिम्मा म लिन तयार छु ।

त्यसो भए सुशील कोइराला दर्ता गराएको संशोधन प्रस्तावले निकास दिदैन ?
केही हुनेवाला छैन । कांग्रेसले मधेसको सेन्टिमेन्ट जित्ने दुस्साहस गरेको मात्र हो । यसरी सम्भव छैन । उनैको पालामा मधेसमा ४५ जना मारिएका हुन । सुशील कोइरालाले चासो देखाउँछु भन्ने ठाउँ छैन । उहाँ प्रधानमन्त्री हुँदा नै मधेस आन्दोलन सुरु भएको हो । कांग्रेस पानी माथिको ओभानो हुन सक्दैन । कांग्रेस र एमाले मिलेर मधेस आन्दोलन सम्बोधन गर्नुपर्छ ।

सरकारबारे तपाईको धारणा के ?
सरकारले काम गर्न चाहेको होला तर आन्दोलनको कारण काम गर्न पाएको छैन । राजावादीहरुले अस्थिरता चाहन्छन । वार्ता टोलीमा उनैलाई राखिन्छ । एमाले र एमाओवादीले मण्डलेहरुबाट धोका पाउनेछन । राप्रपा नेपालको मुद्दा नै फरक छ । जसले झापा आन्दोलन, माओवादी आन्दोलन र मधेस आन्दोन दमन गरेको छ । जसले धर्म निरपेक्षता र गणतन्त्रलाई स्वीकार गरेको छैन, उसको संगत तत्काल छोड्नुपर्छ । अरु परिवर्तनकारी शक्तिसँग मिलेर अगाडि बढ्नु नै बुद्धिमानी ठहरिनेछ ।

अन्त्यमा केही भन्नु छ कि?
हिमाल, पहाड, तराईका सम्पूर्ण नेपालीहरुको अमनचयनका लागि मानवतावादको शान्तिपूर्ण लडाई लडौँ । आन्दोलन हिंसात्मक नबनाऔं । छिटोभन्दा छिटो मधेसको समस्या समाधान गर्नुपर्छ ।
श्रोत : नेपालपाटी