नेपालमा प्रदेश केन्द्र र मुकामको विषयलाई लिएर आन्दोलन चर्कियो

लन्डन । नेपालमा संघीयता कार्यान्वयनको चरणमा रहेको बेला सरकारले अस्थायी केन्द्र र मुकाम तोकेपछि आआफनौ ठाँउँमा सदरमुकामको माग गर्दै आन्दोलन चर्किदै गएको छ । मुकामको विषयलाई लिएर कतै उग्र रुप लिर्दै गएको छ भने कतै निषेधाज्ञा जारी गरिएको छ ।

राजनीतिक दलहरुले चुनावमा जनतालाई बाँडेका मिठा मिठा आश्वाशन अहिले आएर कार्यान्वयन गर्न नसक्ने देखिएपछि जनताको आँखामा छारो हाल्ने कार्य गरिरहेका छन् । हिजो मात्र सरकारले केन्द्र र मुकाम तोकेपछि त्यसको विरोधमा सबैजसो प्रदेशमा आन्दोलन हिंसात्मक रुप लिदै गएको छ ।

प्रदेश नं २ को प्रादेशिक राजधानी वीरगञ्ज हुनुपर्ने माग राख्दै बिहीबारदेखि वीरगञ्ज बन्दको आह्वान गरिएको छ । बन्दका कारण वीरगञ्जको जनजीवन प्रभावित भएको छ । सरकारले बुधबार अस्थायी राजधानी जनकपुरलाई तोकेको थियो । सरकारले बुधबार १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटामा पनि चर्को नाराबाजीका साथै विरोध प्रदर्शन भइरहेको छ । प्रहरी र पदर्शनकारीबीच झडप हुँदा केहि घाइतेसमेत भएका छन् ।

उता तीन नम्बर प्रदेशको राजधानी हेटौडालाई तोकिएको भन्दै भक्तपुरमा पनि विरोध पदर्शन भएको छ । भक्तपुरको सानोठिमीलाई राजधानी तोक्नुपर्ने माग गर्दै विरोध भइरहेको छ ।  प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा दाङ जिल्ला बन्द गरिएको छ ।

दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज पनि बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द रहेका छन् ।