लण्डन । लन्डनस्थित नेपाली दूतावासमा डा. कपिल रिजाल र डा. रजनी रिजालको संयोजनमा सोमबार सांझ नेपालका भूकम्प पीडित बालबालिकाको सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।
उक्त च्यारिटी डिनरमा बेलायती राजपरिवारका निकट नातेदार प्रिन्स माइकल अफ केन्ट जिसिभिओ, बेलायतका न्याय मन्त्री माइकल गोभ, सांसद एवं पूर्व रक्षा राज्यमन्त्री जेराल्ड होवार्थ, सांसदहरु क्रिस डेभिस, मिसेल डोनेलन लगायत केहि अरु वरिष्ठ राजनीतिज्ञ कार्यक्रममा उपस्थित थिए ।
त्यसै गरि नेपाली समुदायका नेपाली समुदायका तर्फबाट कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल लगायत सहभागी थिए ।
गोरखास्थित रान्चोकका भूकम्प पीडित नेपाली वालवालिकाको शिक्षा तथा स्वास्थ्य सेवाका लागि खर्च जुटाउन गरिएको च्यारिटीमा प्रमुख अतिथी प्रिन्स माइकल अफ केन्टले बेलायत नेपाल सम्वन्धको चर्चा गर्दै आयोजकको तारिफ गर्नुका साथै मानवीय सहायताका लागि गरिएको कार्यक्रममा उपस्थित हुन पाउंदा खुशी लागेको समेत उनले बताए ।
मन्तव्यका क्रममा विशेष अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपालको पछिल्लो राजनीतिक विकासक्रम र मानवीय संकट आदिबारे प्रकाश पारे । क्षेत्रीले प्रिन्स माइकल अफ केन्टसंगको बेग्लै भेटमा समेत भारतीय नाकाबन्दीले उत्पन्न मानवीय संकटबारे अवगत गराएका थिए ।
च्यारिटीमार्फत संकलित रकममा सरकारले दिने २० प्रतिशत गिफ्ट एड थपेर बेलायतस्थित लिसा मे फाउण्डेशनमार्फत नेपाल पठाइने रिजालले जनाए । फाउण्डेशनले डा. रिजालको समन्वयमा ९ ग्रामीण गाउंका विद्यालयमा खानेपानी र शौचालय सुविधासहित प्रेक्षालय निर्माण गर्ने योजना अघि सारेको छ । फाउण्डेशनले गत अप्रिलको विनाशकारी भूकम्प लगत्तै करिब एक लाख १० हजार पाउण्ड संकलन गरेर नेपाल पठाएको थियो भने डा. रिजालकै नेतृत्वमा बेलायतबाट २१ जना चिकित्सक तथा नर्स भूकम्प प्रभावित क्षेत्रमा खटिएका थिए ।
फाउण्डेशनले दोश्रो चरणमा गोर्खा जिल्लाको रान्चोकमा एकसय ३८ र सांखुमा दशवटा अस्थायी आवास गृह निर्माण गरिदिएको थियो ।
तस्विर सौजन्यः कुशल श्रेष्ठ







