धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुधबार राति साढे ९ बजे काठमाडौं महानगरपालिका-१५ ठाडो भर्‍याङमा एक जनामाथि धारिलो हतियार प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिका-७ का ४८ वर्षीय मिलन खत्री र नुवाकोट विदुर नगरपालिका-१ घर भएका २२ वर्षीय विकास आचार्यबीच झगडा भएको थियो। गएराति उनीहरूले मादक पदार्थ सेवन गरेका थिए। त्यसैबीच सामान्य विवादमा झगडा हुँदा विकासले मिलनलाई जथाभावी गाली गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

उनले विकासको गर्धन र टाउकोमा प्रहार गरेका थिए। विकास अहिले गम्भीर घाइते छन् । घाइते विकासलाई मनमोहन मेमोरियल अस्पतालमा उपचारपछि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूले मिलनलाई पक्राउ गरेको छ। उनीमाथि ज्यान मार्ने उद्योगमा थप अनुसन्धान गरिरहेको बताएको छ।