उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै
काठमाडौं । विश्व फुटबलको महाकुम्भ आज (बिहीबार) बाट सुरु हुँदैछ । रुसको मस्कोस्थित लजनिकी रंगशालामा एक भव्य समारोहकाबीच फिफा विश्वकपको औपचारिक उद्घाटन हुँदैछ । २१औँ संस्करणको उद्घाटनमा आयोजक रुस र साउदी अरेबियाबीच पहिलो भिडन्त हुँदैछ ।
विश्वकपको उद्घाटनमा सत्रमा रुसका राष्ट्रपति भ्लादमिर पुटिनसहित विश्व चर्चित नेता, कलाकार तथा खेलाडीहरुको उपस्थिति रहने छ । आयोजक रुस र साउदी अरेबियाबीचको खेल नेपाली समयअनुसार राति ८.४५ बजे सुरु हुनेछ । यी दुवै टिम समूह ‘ए’ मा रहेका छन् । पहिलो दिन उद्घाटन खेल मात्रै हुनेछ । असार १ गते शुक्रबारबाट समूह चरणका खेल हुनेछन् । ३२ राष्ट्र सहभागी फुटबलको महाकुम्भ मस्को र अन्य १० सहरमा हुनेछन् ।
मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् । विश्वकपमा सहभागी हुने टिमले कम्तीमा ८० लाख डलर पाउने छन् । प्रि–क्वाटर फाइनल पुग्ने राष्ट्रले १ करोड २० लाख डलर, क्वाटर फाइनल पुग्नेले १ करोड ६० लाख डलर, चौथो हुनेले २ करोड २० लाख डलर, तेस्रो हुनेले २ करोड ४० लाख डलर, उपविजेताले २ करोड ८० लाख र विजेताले ३ करोड ८० लाख डलर पाउने छन् । प्रतियोगिता आयोजनामा रुसले १२ देखि १४ अर्ब खर्च गरेको छ । यो पटकको विश्वकपमा फिफाको ६ महादेशबाट छनोट खेलेका २०९ राष्ट्रबाट ३२ टोलीले सहभागिता जनाउदै छन् । फिफाले ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेको छ । जसमा ६४ खेल हुनेछ ।
रुस विश्वकपमा युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन् । त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाएका छन् । पाँच पटकको बिजेता ब्राजिल, साबिकको बिजेता जर्मनी लगायतका ठूला राष्ट्र यसपटकको विश्वकप फुटबलमा छनोट भए भने चार पटकको बिजेता इटाली, नेदरल्याण्ड, वेल्स जस्ता राष्ट्र छनोटमै परेनन् । त्यस्तै अमेरिका, चिली, आइभरी कोष्ट, घाना देशले पनि विश्वकप खेल्ने छैनन् ।
योपटक आइसल्यान्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन् । यस पटकको विश्वकपमा पहिलो पटक भार अर्थात् भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरिँदै छ । रेफ्रीसहित मैदानमा रहेका निर्णायकले नदेखेका खेलका नियमलाई भारको प्रयोग गरेर गलत र सही छुट्याइने छ । यसैबीच अमेरिकाको नेतृत्वमा मेक्सिको र क्यानडाले सन् २०२६ विश्वकप आयोजनाको अधिकार पाएका छन् ।






