हेटौँडामा भेटियो लुकाएको इन्धन

Petrol-pump-300x200

हेटौँडा, ३ कात्तिक । हेटौँडामा लुकाइराखेको अबस्थामा लुकाएको अबस्थामा पेट्रोल भेटिएको छ ।

हेटौँडा उपनगरपालिका–११ थानाभर्‍याङस्थित शिवम् पेट्रोल पम्पमा लुकाइराखेको २०० लिको पेट्रोल जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज छापा मारी नियन्त्रणमा लिएको छ ।

सो पेट्रोल स्थानीय उपभोक्तालाई वितरण गर्न आजै सो पम्पका व्यवस्थापकलाई निर्देशन दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

यसैबीच हेटौँडास्थित दुई पम्पबाट १२ हजार लि डिजेल र पाँच हजार लि पेट्रोल सार्वजनिक यातायातलगायत एम्बुलेन्स तथा दूध वितरण गर्ने सवारी र दूरसञ्चारलाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनियमितता गरी पेट्रोल लुकाई कृत्रिम अभाव सिर्जना गर्ने पम्पलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइसकेको मकवानपुरका सहायक प्रजिअ चन्द्रबहादुर कार्कीले बताउनुभयो ।