‘सुरक्षित आप्रवासनको आवश्यकता : हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा सरकारी निकाय, आप्रवासी कामदार, टे«ेड युनियन, विभिन्न सङ्घसंस्थाको सहभागितामा भृकुटीमण्डपबाट सुरु भएको ¥याली पद्मोदय हाइस्कुल, पुतलीसडक, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा आई कार्यक्रममा परिणत भएको थियो ।
श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले सुरक्षित आप्रवासको चक्रलाई कामदारमैत्री बनाउन मन्त्रालयले विभिन्न प्रयास गरिरहेको बताउँदै अठाराँै सार्क शिखर सम्मेलनमा आप्रवासनको विषयलाई प्रवेश गराउनसक्नु उपलब्धिमूलक कार्य भएको बताउनुभयो ।
वैदेशिक रोजगारी दिगो समाधानको आधार नभएकाले मुलुकभित्रै पर्याप्त मात्रामा अवसरको सिर्जना अपरिहार्य रहेकामा उहाँले जोड दिनुभयो ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारका लागि कार्यक्रम, मृतक कामदारका बालबालिकालाई छात्रवृत्ति कार्यक्रम र विशेष उद्धार कोषको स्थापनालगायतको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले सीपयुक्त जनशक्तिलाई आप्रवासको समयचक्र र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सुसूचित गरी वैदेशिक रोजगारीमा पठाउन सके दीर्घकालीन फाइदा लिन सकिने धारणा राख्नुभयो । दिवसको अवसरमा मङ्सिर २६ गतेदेखि सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरिएको थियो । दिवसका अवसरमा अन्तक्र्रिया, सडक नाटक, पीडितको सुनुवाइ, रक्तदान, तालिम, जनचेतना अभिमुखीकरणजस्ता कार्यक्रम गरिएको थियो ।
सन् २००० डिसेम्बर ४ मा बसेको संयुक्त राष्ट्र सङ्घको महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिन डिसेम्बर १८ लाई आप्रवासी दिवसको रुपमा मनाउने निर्णय गरे पछि यो दिवस संसारभर मनाउने गरिएको छ ।
हाल विश्वमा दुई अर्ब ३२ करोड आप्रवासी कामदारका रुपमा कार्य गरिरहेका तथा नेपालबाट बर्सेनि पाँच लाख व्यक्ति आप्रवासी कामदारका रुपमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो






