सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य परिषद संयोजकमा विनोद कुवँर विजयी भएका छन् । हालै सम्पन्न एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा १ हजार १२ मत प्राप्त गर्दै कुँवर संयोजकमा विजयी भएका हुन् । युवा अभियान्ता तथा इन्जिनियर कुँवर लामो समयदेखि एनआरएनएमा सक्रिय छन् ।
सन् २०२३-२५ कार्यकालका लागि संयोजकमा निर्वाचित कुँवरले अस्ट्रेलियामा एक्स्ट्राटेक कम्पनी सञ्चालन गरी विभिन्न व्यक्तिहरुलाई रोजगारी दिँदै आएका छन् । अस्ट्रेलियामा बसेर व्यवसाय गर्दै आएका गुल्मीका कुँवरले रूपन्देहीको तिलोत्तमा नगरपालिका-१७ मा ५ विगाहा क्षेत्रमा एकेडेमीसहितको सुविधा सम्पन्न रंगशाला समेत बनाउँदै छन् । अस्ट्रेलिया र नेपालमा पनि आइटी व्यवसाय सञ्चालन गरेका कुँवर ४० करोडभन्दा बढीको एकल लगानीमा रंगशाला बनाउन कस्सिएका हुन् ।






