काठमाण्डौ – मोरङ जिल्ला धनपालथान गाउँपालिका-७ को बोर्डिङ टोल नजिकै बुधबार एक पुरुषको शव फेला पर्यो । बस्तीबाट करिब ५ सय मिटर टाढाको दुरीमा रहेको उक्त घटनास्थलमा स्थानीय गंगाप्रसाद सिंहले उखु लगाएका छन् ।
उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरे । उक्त शव स्थानीय शम्भु चौधरीको भएको पुष्टी भयो । बुधबार शव फेला परेको स्थाननजिकै करिब ३० मिटर पूर्व बरजंगी सिंहको उखुबारीमा बिहीबार अर्को शव फेला पर्यो । उखु काट्दै गरेका स्थानीयले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । पछि उक्त खाल्डोबाट प्रहरीले ७ फिट तलबाट शव निकालेको थियो ।
उक्त शव सुनसरीको धरान-३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको पहिचान खुल्यो । मोरङ प्रहरीका एसपी जर्नादन जिसीका अनुसार दुवै शव हत्या गरेपछि गाडिएको थियो ।
उस्तै प्रकृतिका दुई वटा शव नजिकनजिकै भेटिएकोले घटनालाई गम्भीर रुपमा प्रहरीले अनुसन्धान अगाडी बढायो । घटनामा संलग्नता रहेको आशंकामा सिराहाका अनिल कुमार मण्डललाई प्रहरीले पक्राउ गर्यो । उनकै बयानका आधारमा पुन : ललितपुरमा बिहीबार अर्को शव गाडेर माथिबाट ढलान गरेको अवस्थामा फेला पर्यो । खाल्टोमा गाडिएको अवस्थामा फेला परेको उक्त शव तेह्रथुम, संग्रान्ती गाउँपालिका-२ का ६२ वर्षीय मोहन लिम्बुको भएको पत्ता लाग्यो ।
उक्त घर मासिक ३० हजार तिर्ने गरी सिराहाका उनै अनिल मण्डललाई घर भाडामा दिईएको थियो । मण्डललाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको हो । उनकै बयानका आधारमा लतिपुरको गोदावरी नगरपालिका-१२ धापाखेलबाट प्रहरीले तेह्रथुमका मोहन लिम्बुको शव गाडेको अवस्थामा भेट्टाएको थियो ।
तीनै जना जग्गा कारोबारमा साझेदार रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख जिसीले बताए । उनीहरुले सिरहाका अनिल मण्डलसँग मिलेर कारोबार गर्दै आएको खुल्न आएको छ । यसक्रममा आर्थिक लेनदेनमा समस्या देखिएपछि मण्डलले भारतीय र नेपाली अपराधीको सहयोगमा हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको हो । चौथो साझेदार मण्डलले उनीहरुको हत्यापछि शव लुकाउने क्रममा मोरङ र ललितपुरमा गाडेको प्रहरी बताउँछ ।
प्रहरी स्रोतका अनुसार चार जना मिलेर जग्गा, हाइड्रोपावर, सिमेन्ट उद्योगलगायतमा लगानी गरेका छन् । ६२ वर्षीय लिम्बू तेह्रथुम संक्रान्ति निवासी भएको खुल्न आएको छ । प्रहरी अनुसन्धानका क्रममा डोरीले घाँटी कसेर हत्या गरी तीन जनाको शव तीनतिर गाडिएको थियो । घटनाबारे प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने भएको छ ।






