९ वर्षपछि नेविसंघको महाधिवेशन सुरु

nsu nepalकाठमाडौँ, २३ साउन । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ)को ११ औं महाधिवेशन नौ वर्षपछि आइतबारदेखि सुरु भएको छ । सङ्घको १० औं महाधिवेशन २०६४ जेठ ६, ७ र ८ गते चितवनमा भएको थियो ।

तीनदिने ११औँ महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डमा भव्य समारोहबीच उद्‍घाटन गरेपछि महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी करिब तीन हजार ४०० प्रतिनिधिले भाग लिएका छन् । महाधिवेशनमा भाग लिन अधिकांश प्रतिनिधि राजधानी आइसकेको नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

नेकाँ पार्टीको आन्तरिक जीवनलाई समेत महाधिवेशनले नयाँ गति दिने हुँदा यसलाई पार्टी नेतृत्व एवम् आम सर्वसाधारणले उत्सुकतापूर्वक नियालिरहेका छन् ।  महाधिवेशनको पहिलो दिन उद्‍घाटन सत्रमा सीमित रहनेछ । साउन २४ गते बन्दसत्र र साउन २५ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ ।

बन्दसत्रमा सङ्घका अध्यक्ष रञ्जित कर्णले राजनीतिक तथा साङ्गठनिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन गरी तीनवटा प्रतिवेदन पेस गर्नुहुने छ । साउन २५ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ ।

एक व्यक्ति एक पद

सङ्घमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्यरूपमा लागू भएको छ । कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्को पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने प्रवक्ता लामिछानेले जानकारी दिए ।

अब सङ्घको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एकजना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहनेछन् ।

त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।

सङ्घको दुई वर्षभित्र अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ । एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि हाल रहेको केन्द्रीय समितिको पद पनि स्वतः खारेज हुनेछ ।

पदाधिकारीमा आकाङ्क्षी धेरै

सङ्घको अध्यक्षमा हालसम्म नैनसिंह महर, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू घोषणा गर्ने क्रममा रहेको बताइएको छ ।

त्यस्तै महामन्त्री पदमा नेवि सङ्घ नेताहरू मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, मोतीलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, मित्र भट्टराईलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । दुवै कांग्रेस एकीकरणपछि हुन लागेको महाधिवेशनमा पदाधिकारी र सदस्यमा करिब ५०० उम्मेदवारी पर्ने देखिन्छ ।

महाधिवेशनमा एक करोड ७८ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ । ब्यानर, प्रचारप्रसार, होटल, खाना, खाजा, यातायात मसलन्दलगायतमा खर्च हुने प्रवक्ता लामिछानेले जानकारी दिए ।

२०२७ वैशाख ६ गते स्थापना भएको नेवि सङ्घमा हालसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, नारायणप्रकाश साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्ण अध्यक्ष भइसकेका छन् ।