काठमाडौं, वैशाख ११ । स्वीट्जरल्यान्ड विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘सस्टेनेवल डेभेलपमेन्ट सोलुसन नेटवर्क’ले निकालेको प्रतिवेदनअनुसार घडी र चक्लेटका लागि प्रसिद्धी कमाएको उक्त मुलुकका नागरिक सबैभन्दा खुसी मानिएको हो ।
१०
पूर्णाङ्क दिएर १५८ मुलुकमा गरिएको सर्वेक्षणमा ७ दशमलव ५८ नम्बरका साथ स्वीट्जरल्यान्डले लगातार तेस्रो वर्षपनि पहिलो स्थान कायमै राखेको हो । त्यसपछिका अरु मुलुकमा क्रमशः आइसल्यान्ड, डेनमार्क, नर्वे र क्यानडा रहेका छन् । यसैगरी, सबैभन्दा कम खुसी पाँच मुलकमा टोगो, बुरुन्डी, सिरिया, बेनिन र रुवान्डा छन् ।
दक्षिण एसियामा भने भुटानले सबैलाई उछिनेको छ । सबैभन्दा खुुसी दक्षिण एसियाली मुलुक बन्नेक्रममा भुटान ५ दशमलव २५ नम्बरसहित ७९औं स्थानमा छ भने नेपाल ४ दशमलव ५१ नम्बरसहित १२१औं स्थानमा छ ।
पाकिस्तान ८१, बंगलादेश १०९, भारत ११७, श्रीलंका १३२ स्थानमा रहँदा अफगानिस्तान भने १५३ नम्बरमा रहेर कम खुसी देशको छैठौं स्थानमा छ । विश्वकै शक्तिशाली मुलुकहरु भने विश्वकै खुसी मुलुकको सूचीमा निकै तल छन् ।
विश्वकै पहिलो अर्थतन्त्रको अमेरिका १५, दोस्रो चीन ८४, तेस्रो जापान ४६ औं खुसी मुलुकमा छन् भने बेलायत २१औं स्थानमा रहेको छ ।
सदस्य राष्ट्रहरुको प्रतिव्यक्ति आय, स्वस्थ जीवनस्तर, भ्रष्टाचारको अवस्था र सामाजिक स्वतन्त्रता जस्ता विषयमा आधारित रहेर अध्ययन गरिएको उक्त संस्थाले जनाएको छ । (एजेन्सी)
स्वीट्जरल्यान्ड ‘विश्वकै सबैभन्दा खुसी’, शक्तिशालि देश बेखुसी






