नेविसङ्घको मनोनीत कार्यसमिति नबनाउन माग

nsu nepalकाठमाडौं, २३ साउन । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका आकाङ्क्षीहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्र्न दिन पार्टी नेतृत्वसँग माग गरेका छन् ।

आइतबारदेखि हुन लागेको सङ्घको ११औँ महाधिवेशनमा निर्वाचन नभई पार्टीले नयाँ कार्यसमितिको नामावली घोषणा गरेमा आफूहरुलाई मान्य नहुने उनीहरुले उद्घोष गरेका हुन् ।

अध्यक्षका आकाङ्क्षी मनोजमणि आचार्यले आफूले हारे पनि निर्वाचन हुनुपर्नेमा जोड दिए ।

नैनसिंह महरले नेविसङ्घ काँग्रेसका नेता उत्पादन गर्ने नर्सरी भएकाले निर्वाचनमा भिड्ने अवसर दिन नेताहरुसँग आग्रह गरे ।

दीपक भट्टराईले कांग्रेसका नेताले नेविसङ्घ चलाउन खोजेमा विद्यार्थीले पार्टी चलाउने चेतावनी दिए ।

आनन्दराज त्रिपाठीले निर्वाचन लड्न नदिई मनोनयन गर्ने प्रवृत्तिको विरोध गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरे।

क्षितिज भण्डारीले कांग्रेसका नेताहरुले मनोनीत समिति बनाएमा आफूसहितका अधिकांश कार्यकर्तालाई अमान्य हुने स्पष्ट पारे ।

नीलकण्ठ रिजालले नेविसङ्घको महाधिवेशन यसपटक पनि नभएमा नेविसङ्घको अस्तित्व रहन नसक्ने टिप्पणी गरे ।

कुन्दनराज काफ्लेले नेविसङ्घको पुरानो गौरवशाली प्रतिष्ठालाई पुर्नजीवित गर्न विधिसम्मत महाधिवेशन हुनुपर्नेमा जोड दिए ।

विनिता अधिकारीले मनोनीत कार्यसमिति बनाउने सोच नराख्न नेताहरुलाई खबरदारी गर्नुपर्ने बताइन् ।

शुभराम बस्नेतले विगतमा आफूले पाएका सबै जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकाले निर्वाचनमार्फत सङ्घको नेतृत्व लिन चाहेको तर्क गरे ।

रामप्रसाद अधिकारीले विद्यार्थी आन्दोलनमा निरन्तर खटिएकाले आफूलाई विद्यार्थीले छनोट गर्ने विश्वास व्यक्त गरे ।

लक्ष्मण आचार्यले आफू नेताहरुको नजिक भएर पनि कहिल्यै कुनै पदमा मनोनीत हुन नचाही निर्वाचनमार्फत नेतृत्व लिन चाहेको बताए ।

सरोज थापाले इमान्दारिता र नैतिकताको राजनीतिका लागि आफू उम्मेदवार हुन लागेको जानकारी दिए ।

पदमराज पन्तले नक्कली प्रतिनिधिहरु खारेज गरी सक्कली प्रतिनिधिमार्फत सक्कली नेतृत्व छान्ने वातावरण बनाउन निर्देशक समितिलाई आग्रह गरे ।

रत्न कार्कीले लहडमा नलागी विवेक पु¥याएर नेतृत्व छान्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरे ।