अष्ट्रेलियामा जनवरीको अन्तिमबाट कोभिड संक्रमण घट्ने अनुमान

सिड्नी । अष्ट्रेलियामा मंगलवार हालसम्मकै धेरै कोभिड संक्रमित फेला परेका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ४७ हजार ७३८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

पछिल्लो समय ओमिक्रोन नाम दिइएको नयाँ भेरियन्ट पनि फैलदो क्रममा रहेको छ । सिड्नीमा मात्रै २३ हजार बढी संक्रमित भेटिएका छन् ।

उपस्वास्थ्य अधिकारी डा. सोन्या बेनेटले भने,– यो हालसम्मकै ठूलो संक्रमित संख्या हो, र अझै बढ्ने अनुमान छ । यति संक्रमित हालसम्म अष्ट्रेलियामा हामीले देखेका थिएनौं ।

यस्तै देशभर ३६२ जना अस्पतालमा उपचार गराइरहेका छन् भने १९४ जना आईसीयूमा छन् ।

सरुवारोग विशेषज्ञ प्रोफेसर रोवर्ट बोइले अब अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट संक्रमणको चरम विन्दु देखिने समय आएको बताए ।

जनवरीको केही हप्ताभित्रै अष्ट्रेलियामा संक्रमणको अवस्था उच्च विन्दुमा पुग्ने र त्यसपछि विस्तारै घट्दै जाने उनले बताए ।

सबैभन्दा धेरै सिड्नीमा र त्यसपछि मेलवर्नमा उच्च संक्रमण देखिने उनको भनाई छ ।