काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन मंगलबार नै गर्ने तयारी गरेको छ। मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवार बहुमत प्राप्त गर्न सकेनन्।
निर्वाचन समितिका एक सदस्यले भने ‘आधिकारिक मतपरिणाम केहि समयमा घोषणा हुन्छ। पहिलो चरणमा कुनै उम्मेदवारले बहुमत ल्याउन सकेनन्, दोस्रो चरणको निर्वाचन आजै गर्ने गरी छलफल सुरु भएको छ।’
कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले बहुमत ल्याउन सकेनन् । डा. शेखर कोइरालाले दोस्रो मत प्राप्त गरेका छन्। पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ। राष्ट्रिय सभागृहमा मतगणना भएको थियो।
नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्। सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिएका छन्।






