लण्डनबाट शेखरलाई जिताउन अपिल गर्दै आरके त्रिपाठीले काँग्रेस कार्यकर्तालाई लेखे मार्मिक सन्देश

लण्डन । नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ । सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि काठमाडौंमा मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ ।

मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् ।

पहिलो चरणको मतदानमा खसेको मतमध्ये कुनैपनि उमेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा पुगेको हो। देउबा र कोइराला पहिलो चरणमा सर्वाधिक मत पाउने शीर्ष दुई उम्मेदवार थिए।

यसरी प्रधानमन्त्री समेत रहेका देउवालाई सभापतिको उम्मेद्वार भएका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गरुङले समर्थन गरेका छन् । जसको कारण उनको जित सुनिश्चित रहेको बताइन्छ ।

यसै प्रसङ्गमा बेलायतमा रहेका नेपाली काँग्रेसका नेता आर. के. त्रिपाठीले अब काँग्रेसमा परिवर्तन आवश्यकता रहेको भन्दै डा. कोइरालालाई जिताउन अपिल गरेका छन् ।

प्रजातान्त्रिक प्रक्रियामा फुटबल खेलमा जस्तै हारजित हुन्छ तर निष्ठा इमान लाई नबेचौं भन्दै उनले यसरी महाधिवेशन प्रतिनिधिहरुमाझ अपिल जारी गरेका छन् ।

प्रजातान्त्रीक प्रक्रियामा फुटबल खेलमा जस्तै हारजित हुन्छ तर निष्ठा इमान लाई नबेचौं ।

भोटमा २ +२ पाँच होला तर निष्ठा + इमान सदैब चार हुन्छ। यहाँ जिते पनि आकाश खस्दैन । कोहि हौसिन जरुरी छैन। हाम्रा समस्या जहाँ को त्यहीं छन परिवर्तन नआए सम्म !भलै शेर बहादुर देउवा संग व्यक्तिगत चिनजान राम्रो भए पनि नेपालको संवृद्धिको खाका कोर्न अब नयाँ नेताहरुले वा युवाहरुले नेपाली कांग्रेस पार्टी भित्र नेतृत्व लिनु पर्दछ भनेर नै मैले शेखर कोइराला को सामुहिक नेतृत्वको पक्षमा भोट मागे। बेलायतमा वसेको बिस बर्ष भयो।

मैले पश्चिमा देशको संवृद्धि र राजनैतिक अभ्यास बुझेर नै नेतृत्व परिवर्तन आवश्यक छ भनेको हुँ। यसका म पुन कटिबद्ध छु। हामीले भनेको कुरा गरेको निवेदन हाललाई मत संख्यामा सहि नदेखीय पनि भविष्यमा यो प्रमाणित हुने नै छ ।

पश्चिमा देशमा बसेर यत्रो प्रजातन्त्र विधी र संवृद्धि हेर्ने हामीहरु निती भन्दा व्यक्तिको पछि हिंडेको देखियो। आफुले मन पराएको व्यक्ति जित्यो , अब मेरो पल्ला भारी भयो! घरबार ,पद,गाडी , बङ्गला ठेक्का, पट्टा ,नियुक्ती ,मनोनयन फेरी पनि जोडिने भयो भनेर रमाउनु आफु भित्र आफैलाई नचिन्नु र आत्मारती रमाउनु मात्रै है।

म अझै दावाका साथ भन्दछु कि परम्परागत नेतृत्व र सोच बाट नेपालको संवृद्धि संभब छैन । समयमै नयाँ नेतृत्व चाहे पार्टी मा वा सरकारमा परिवर्तन भएन भने हाम्रो नेपालको बिकाशको मार्ग चित्र धकेलिनेछ ।अन्तत दुख पाउने नेपालीले नै हो। मन भित्रको स्वाभिमान बन्देजमा नराखौं। स्वतन्त्र भई बिवेक प्रयोग गरौं ।

हार जीत त एउटा फुटबल खेल भित्रको प्रक्रिया हो। यो त चलि रहन्छ। मैले जिते!मैले सबैलाई ढाले,भन्न जरुरी छैन।धेरै हौसनुको कुनै तुक छैन । यि सब समयले प्रमाणित गर्दछ! हामीले राम्रो गर्‍यौँ वा गरेनौं भनेर। जे देखे जे सोचे त्यही स्वतन्त्र रुपमा लेखें। स्नेही – आर के त्रिपाठी – लण्डन