काठमाडौँ- प्रमुख सत्तारूढ दल नेकपा (एमाले)ले मधेसी दलले चलाएको आन्दोलनलाई ‘प्रायोजित’ को सङ्ज्ञा दिएको छ ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले धुम्बाराहीमा सुरू भएको पोलिटब्युरो बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा मधेसकेन्द्रित दलको आन्दोलन मुलुकको राजनीतिको वास्तविक नभई ‘नक्कली समस्या’ भएको टिप्पणी पनि गर्नुभएको छ ।
सङ्घीयताको सीमाङ्कनलगायतका विषयमा असन्तुष्ट भई आन्दोलनमा छन् । संविधान बन्नुअघि नै नेपालले अघोषित नाकाबन्दी भोग्नुपरेको र राष्ट्रिय स्वाधीनताको जगमा वर्तमान सरकार बनेको र राष्ट्रियताको भावनालाई कति पनि विचलित हुन नदिनु सरकारको सफलता भएको १२ पुष्ठे प्रतिवेदनमा उल्लेख छ । छिमेकी भारत र चीनको भ्रमणबारे पनि प्रतिवेदनमा चर्चा गरिएको छ ।
एमालेका सचिव योगेश भट्टराईले संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएको, भारत र चीन भ्रमण सफल भएकोजस्ता विषय अध्यक्षले प्रतिवेदनमा उल्लेख गरेको बताउनुभयो । प्रतिवेदन अध्ययन गरेर बुधबारको बैठकमा सुझाव दिनेछन् ।
यसैबीच, एमालेको केन्द्रीय कमिटीको बैठक यही चैत २७ देखि ३० बस्नेछ । पार्टीको केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयनको विवाद टुङ्गो लगाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।
सचिवालय बैठकले पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदलले थप गृहकार्य गरी प्रस्ताव ल्याउन जिम्मेवारी दिएको हो ।






