पाकिस्तानमा धर्मको नाममा विदेशी नागरिकको कुटेर हत्या, अनि आगो लगाइयो

काठमाडौं । एजेन्सी । पाकिस्तानमा धर्मको नाममा एक विदेशी नागरिकलाई निर्मम रुपमा हत्या गरिएको छ ।

द एक्प्रेस ट्रिब्युनका अनुसार पाकिस्तानको पञ्जाव प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई आक्रोशित भीडले पहिला कुटपिट गरेको थियो भने पछि उनको शरिरमा आगो लगाएको थियो।

उनलाई कुटेर हत्या गरियो पछि शवमा आगो लगाएर जलाइएको थियो । यस घटनालाई प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि ‘शर्मनाक दिन’ भन्दै घटनाको अनुसन्धानलाई आफैंले हेरिरहेको बताएका छन् । उनले घटनामा जोसुकै जिम्मेदार भए पनि उसलाई सजायँ दिने प्रतिबद्धता पनि जनाएका छन् ।

उक्त फ्याक्ट्रीमा बिहीबार रातिदेखि नै कुमाराले ईश्वरको निन्दा गरेको अफवाह फैलिएको थियो। सात वर्षदेखि उक्त फ्याक्टीमा काम गर्दै आएका कुमाराले तेहरिक लाब्बिक पाकिस्तान (टिएलपी) नामक संगठनको पोस्टर च्यातेको उनीहरूको भनाइ थियो। जुन पोस्टरमा कुरानको केही कुरा उल्लेख थियो। कुमाराविरूद्ध सुरूमा फ्याक्ट्रीमा काम गर्नेहरू र आसपासका स्थानीयले फ्याक्ट्रीबाहिर प्रदर्शन गरेका थिए भने पछि आक्रोशित भीड भित्र पसेर उनीमाथि आक्रमण गरेको थियो।

यस घटनापछि सामाजिक सन्जालमा पाकिस्तान सरकारको तीव्र विरोध भइरहेको छ । पाकिस्तानकी चर्चित अभिनेत्री माहिरा खानले पनि ट्वीटरमा प्रधानमन्त्री इमरान खानलाई ट्याग गर्दै लेखेकी छन्, ‘यो लज्जास्पद छ । म निकै दुःखी छु । इमरान खान, हामी जवाफका लागि तपाईंलाई हेरिरहेका छौं । न्यायका लागि तपाईंलाई हेरिरहेका छौं । ताकि हाम्रो समाजमा यस्ता नराम्रा घटना अन्त होउन् ।’

पाकिस्तानको उलेमा काउन्सीलले पनि यसलाई बर्बर घटना भन्दै त्यसको निन्दा गरेको छ । पञ्जाव प्रहरीका अधिकारीहरूले प्रहरी घटनास्थलमा पुगुन्जेल भीडले कुमाराको हत्या गरिसकेको र उनको शवमा आगो लगाएको बताएका छन् ।

प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ।

तस्वीर : टिआरटीवर्ल्ड डटकम