एनआरएनएको निर्वाचनमा फेरी परराष्ट्रको हस्तक्षेप, वर्तमान कार्यसमितिले चुनाव गराउन नपाउने !

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन र नयाँ नेतृत्व चयन प्रक्रियामा परराष्ट्र मन्त्रालयले फेरी पनि हस्तक्षेप गरेको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तले डिसेम्बर १५ मा चुनाव हुने, महाधिवेशन १९ र २० गते गर्ने भनि कार्यतालिका सार्वजनिक गरेपनि परराष्ट्र मन्त्रालयले एक पत्र लेख्दै वर्तमान कार्यसमितिलाई निर्वाचन नगर्न भनेको छ ।

निर्वाचन समयतालिका सार्वजनिक गरेकै दिन गत शुक्रबार नै परराष्ट्रले पत्र काटेर निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको कार्यसमितिले नभई संरक्षक परिषदले गर्न भनेको हो ।

परराष्ट्रका अनुसार अब एनआरएनएकोनिर्वाचन यसका पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा हुने भएको हो ।

‘वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल पुरा भइसकेको हुँदा त्यस परिषदले संस्थालाई असर गर्ने कुनै कार्य नगर्नु नगराउनू’ परराष्ट्रले एनआरएनएलाई दिएको निर्देशनमा भनिएको छ, ‘विगतको प्रचलित अभ्यास अनुसार वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिनू ।’

यसअघि पनि परराष्ट्र मन्त्रालयले पटक पटक एनआरएनएको निर्वाचनमा हस्तक्षेप गर्दै आएको थियो । विभिन्न विवादहरुको उजुरी परराष्ट्रमा आएको भन्दै ती उजुरीहरु समाधान गरेर मात्रै निर्वाचन गराउन भनेको परराष्ट्रको निर्देशनमै यसअघि तोकिएको चुनाव स्थगन गरिएको थियो ।

सुरुमा एनआएनएको निर्वाचन समय तालिका कात्तिक ३ गतेका लागि तोकिएको थियो ।

तर परराष्ट्रको यो हस्तक्षेपलाई एनआरएनए अध्यक्ष पन्तले आलोचना गरेका छन् । सरकारले इतिहासमै पहिलो पटक यसरी हस्तक्षेप गरेको भन्दै उनले कानूनी उपचारमा जाने समेत चेतावनी दिएका छन् ।