चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

kp oliकाठमाडौं- आठ दिने औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किँदै छन्।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री ओली आइतबार अपरान्ह स्वदेश फर्कन लागेका हुन्। प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको विमानमार्फत स्वदेश फर्किन लागेका हुन्।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए। प्रधानमन्त्री ओलीको चीन भ्रमणका समयमा चीन र नेपालबीच १० बुँदे सम्झौता समेत भएको थियो। चीनसँग भएको पारवहन सम्झौतालाई ठूलो सफलताका साथ लिइएको छ।

प्रधानमन्त्री ओलीले चीनका विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण समेत गरेका थिए। प्रधानमन्त्री ओलीले भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माण स्थल र जिपिङपुस्थित ७७० मेगावाटको जलविद्युत् आयोजना अवलोकन पनि गरेका थिए। प्रधानमन्त्री गत चैत ७ गते जम्बो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको बेइजिङ गएका थिए।