सरकारबाट बाहिरिने एमाओवादीको चेतावनी

dinanath sharma
काठमाडौं- भूकम्पपछिको पुनःनिर्माणमा सरकारले ध्यान दिन नसकेको भन्दै एकीकृत नेकपा माओवादीले आपत्ति जनाएको छ ।

भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत भूकम्पपीडित जनताले आवास बनाउन नपाएको, सरकारले प्रदान गर्ने भनेको राहत रकमसमेत वितरण हुन नसकेको र काम गर्ने शैली असाध्यै सुस्त भएको भन्दै सो पार्टीले असन्तुष्टि जनाएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले भूकम्पपीडितले राहत नपाउने अवस्था कायमरहेमा सरकारबाट बाहिरिने चेतावनीसमेत दिए ।

उनले भने–‘जनता खुला आकाशमुनि बस्नुपर्ने अवस्था छ, घर तथा आवास बनाउने काममा सरकारको सहयोग नहुने हो भने सरकारबाट बाहिरिनुपर्ने हुन्छ ।’

कर्णालीका पाँचओटै जिल्ला, सेती महाकालीका पहाडी जिल्ला भोकमरीमा परेको भएपनि सरकारले खाद्यान्न पुर्‍याउनेतर्फ कुनै पहल गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश चुलिएको प्रवक्ता शर्माको कथन थियो ।