बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार संक्रमित

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन् ।सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ । यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ९८ लाख नाघेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ६१ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

१६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

तर पनि पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।