अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा, प्रधानमन्त्री देउवासँग भेटवार्ता हुँदै

काठमाडौं । भेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज बिहिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्दै छन् ।

उनले आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै भोलि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम छ । नेपाल बसाइका क्रममा अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन् ।

उनको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, एमसीसी सम्झौतालगायतका विषयमा छलफल हुनेछ । सन् २०१७ मा हस्ताक्षर भएको यो सम्झौता नेपालको संसदबाट अनुमोदन नहुँदा अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु तीन दिने भ्रमणका क्रममा हिजो बेलुका काठमाण्डौ आएका हुन् । दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लु नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारसँगको परामर्शका लागि आएका हुन् । त्यस्तै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि आज आउँदै छन् ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमण दुई देशबीच कुटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेशका अवसरमा भएको हो ।