माधव नेपाल सहभागी कार्यक्रममा ढुंगामुढा

रौतहट, ४ श्रावण । रौतहटमा मधेशी दलहरुले विरोध गर्दा संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकको सुझाव संकलन प्रभावित बनेको छ । तमलोपा, मधेशी जनाधिकार फोरम नेपाल, संघीय समाजवादीलगायतका दलको विरोधका कारण रौतहट क्षेत्र नम्बर १ को गौरमा सुझाव संकलन प्रभावित बनेको हो ।
एमाले नेता एवम् सभासद माधवकुमार नेपाल, बंशिधर मिश्र, रामकुमार भट्टराई, सत्यनारायण भगत, मोहम्मद मुस्ताक आलमलगायतले सुझाव संकलन गर्दैगर्दा प्रदर्शनकारीले सुझाव संकलन टोलिमाथि ढुंगामुढा गरेका हुन् । उनीहरुले सभासदका गाडी र नगरपालिका भवनमा तोडफोड गरेका छन् । नेता नेपालमाथि भने कुर्सी प्रहार गरिएको छ । गौरस्थित नगरपालिकाको सभा हलमा मस्यौदामाथि छलफल भइरहँदा सद्भावना पार्टीका समर्थकहरुले नेपालमाथि कुर्सी प्रहार गरेका हुन् ।
नेपालले बन्द कोठाभित्र, सुरक्षाकर्मी परिचालन गरेर, सीमित जनतामाझ मात्र छलफल गराएको भन्दै सद्भावना पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए । भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको छ । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत भवन प्रवेशमा प्रहरीले रोक लगाएको भन्दै कार्यकर्ताले नेपालमाथि कुर्सी प्रहार गरेका हुन् । नेता नेपाललाई प्रहरीले सुरक्षा घेराभित्र राखेर कार्यक्रम सञ्चालन गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको छ ।