बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकै दिन करिब ४० हजार सङ्क्रमित

लण्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार ८५१ जनामा एकै दिनमा सङ्क्रमण भएको छ ।

हालसम्म सङ्क्रमित हुनेको संख्या ८० लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १४३ जनाको मृत्यु भएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्ति एकै दिन मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३७ हजार भन्दा बढीको मृत्यु भएको छ ।

सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । यहाँका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको बताएका छन् । उनले हरेक दिन कम्तीमा पनि ३५ हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएकोले सबैलाई सतर्क रहन आग्रह पनि गरेका छन् ।