बेलायतमा यस्तो छ,बडादशैंको शुभ साइतः यसो भन्छन पण्डितहरु:

शिब भण्डारी

लण्डन ।आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ ।

यसै बीच बेलायतमा रहेका नेपालीहरुको लागि दशैं पर्वका विभिन्न साइतहरु सार्वजनिक गरेको छ ।पशुपतिनाथ मन्दिरका मूल पूजारी ज्योतिष पण्डित निलहरी घिमिरेका अनुसार विहिबार विहान ८ बजेर १५ मिनेटमा शुभ साइतअनुसार यस बर्षको बडादशैंको घटस्थापना गरिएको छ ।

नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।

बेलायतमा विजया दशमीको टिकाको उत्तम समय यस्तो छ !

हिन्दुहरुको महान चाड विजया दशमीको दिन बेलायतमा टिका ग्रहण गर्ने शुभ साइत अक्टुबर १५ सुक्रबार बिहान ९ बजेर १५ मिनेटमा उत्तम रहेको पशुपतिनाथ मन्दिरका मूल पूजारी ज्योतिष पण्डित निलहरी घिमिरे तथा पण्डित चिरन्जिवी ढकालले लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीसँग भने, । घरमा आफन्तजनहरुबाट टिका ग्रहण गर्दा  पूर्व फर्किनु र लगाइदिनेले पश्चिम फर्किनु  उत्तम रहने समेत उनीहरुले बताएका छन् ।स्तै पशुपतिनाथ मन्दिर ब्याबस्थापन समितिले मन्दिरमा हुने पूजा आजाको तालिका समेत सार्वजनिक गरेको छ । 

जस अनुसार घटस्थापनाको दिन ७ अक्टोबरमा घटस्थापना, जमरा राख्ने तथा भजन कृतनको समय ५ देखि साँझ सातबजेसम्म राखिएको मन्दिरका अध्यक्ष दाँसुराम पाण्डेले बताए । अन्य दिनका हरेक पूजाआजाका कार्यक्रममा पनि सोही समयमै राखिए उनले बताए ।

विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष चिरन्जीवी ढकालले बेलायतमा काल बेला छलेर अमृत बेलाको छनौट गर्दा बिहानको उक्त समयलाई नै उपयुक्त मानिएको बताए ।

बेलायतका विभिन्न मन्दिरबाट समेत टिका जमारा वितरण हुँदै साउथ इष्ट लन्डनको पशुपतिनाथ नेपाली मन्दिर प्लमस्टिडमा दशैंको दिन पूजित टिका, जमारा वितरण कार्यक्रम आयोजना गरिएको जानकारी मन्दिर समितिका अध्यक्ष दाँसु पाण्डेले दिएका छन् ।

त्यसैगरी वेष्ट लन्डन अन्तर्गत साउथल राम मन्दिरबाट टिका, जमारा लिए पश्चात घर घरमा टिका थाप्ने लगाउने तयारीमा अधिकांश नेपालीहरु भएको पण्डित ढकालले दिए ।

यस अलावा बेलायतको अल्डरसट, बर्मिंघम, नोटिंगहम, केन्ट, लेस्टर तथा वेल्स, स्कटल्याण्ड र आयरल्याण्डमा बस्ने नेपालीहरु समेत स्थानीय मन्दिरहरुबाट टिका ग्रहणको शुभारम्भ गर्ने तयारी गरिरहेको लण्डन नेपाल न्यूजलाई जानकारी प्राप्त भएका छन् ।

बेलायतमा बस्ने हिन्दू तथा अन्य धर्मालम्बी नेपालीहरुले समेत दशैँ पर्वको शुभकामना आदान प्रदान गर्दै यो चाड मनाउने त्यस्तै शुभ साइतको समय पश्चात जुनसुकै समय पनि टिका, जमारा ग्रहण गर्न गराउन सकिने जानकारी बेलायतमा क्रियाशील पण्डितहरु गोविन्द नेपाल,नारायण गाउँले,शंकर काफ्ले,दूर्गा पोखरेलले बताए ।पण्डितहरुले डायस्पोरामा नेपाली समुदायहरुले मनाउदै आएको दशैैलाई यस पटक कोरोनाका कारण सामाजिक दूरी र स्थानीय सरकारको स्वास्थ्य सम्बन्धि निर्देशिका पालना गरि चाडपर्व मनाउनु पर्ने बताए ।