काठमाडौं– नेपाली काँग्रेसले ढिलोमा आगामी असोजको पहिलो हप्ता भित्र पार्टीको महासमिति बैठक बोलाउने भएको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भदौको मसान्त वा असोजको पहिलो हप्ताभित्र पार्टीको महासमिति बैठक बोलाउने सहमति भएको जानकारी दिएका हुन् ।
बुधबार पार्टी कार्यलयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले पार्टीको विधान मस्यौदा समिति बिहिबार गठन हुने समेत बताए ।
‘वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा बस्ने सदस्यहरुको नामावली दिने सहमति भएको छ । त्यसैले विहिबार विधान मस्यौदा समिति गठन हुनसक्छ’ प्रवक्ता शर्माको विश्वास छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विधान मस्यौदा समिति निर्माणका विषयमा बुधबार विहान छलफल भएको थियो । सोही छलफलमा नेताहरु विधान मस्यौदा समिति गठन गर्न सहमत भएको प्रवक्ता शर्माले बताएका हुन् ।
विधान मस्यौदा समिति बढिमा ११ सदस्यीय हुने गरी छलफल अघि बढाएको पनि उनले जनाए । विधानलाई टोल समितिसम्म छलफल गरेर पारित गर्ने विधि तय गरिएको काँग्रेसले जनाएको छ । प्रवक्ता शर्माले विधानमा व्यापक छलफल गरी टुंगो लगाउन कम्तिमा ४० दिन लाग्ने र त्यसलगत्तै महासमिति बैठक बोलाउने तयारी गरिएको पनि जानकारी दिए ।






