प्रकाश कंडेल, अल्डरशट । बेलायतको अल्डरसटमा बनेको नेपालीको शिव मन्दिर धुमधामले उद्घाटन कार्यक्रम शुरू भएको छ । लामो प्रतीक्षा पछि अल्डरसटस्थित शिव मन्दिरको विहिबार उद्घाटन शुरू गरिएको हो ।
मन्दिरका कार्यवाहक अध्यक्ष तथा पूर्व डिएसपी बाचस्पती रेग्मीको अध्यक्षतामा सेप्टेम्बर ११ का दिन बसेको बोर्ड अफ ट्रस्टिज़ र कार्यसमितिको बैठकले आराध्यदेव पशुपतिनाथ काठमाडौंको प्रतिस्वरूप चतुर्मुखी शिवलिङ्गसहित अन्य मूर्ति र प्रतिमाहरूको प्राण प्रतिष्ठापन तथा मन्दिर उद्घाटन यही अक्टोवरको ७,८ र ९ तारिक अर्थात् बिहिवार घटस्थापनाबाट सुरु गरेर शनिवारसम्म गर्ने निर्णय गरेको थियो । सोही अनुसार आजबाट कार्यक्रम शुरू भएको हो ।
पशुपतिनाथको प्रतिस्वरूप मुख्य मूर्ति बेलायतका प्रसिद्ध समाजसेवी रविजङ्ग लामिछानेले सहयोगस्वरूप उपलब्ध गराएका हुन्।मन्दिरभित्र सामाजिक तथा धार्मिक इभेन्ट्स गर्न करिब अढाइ सय जना अट्ने हल बनाइएको छ भने ४–४ वटा महिला पुरुषका लागि शौचालय छन् । आपांगमैत्री शौचालय पनि बनाइएको छ । करिब ४० हजार पाउण्ड खर्च गरेर छानो पनि नयाँ राखिएको छ । मण्डपसहितको मन्दिर क्षेत्र छुटयाइएको छ, जसले गर्दा मानिसको भीड हुँदा पनि सुरक्षित रहने मन्दिर व्यवस्थापनले जनाएको छ ।
हेर्नुहोस् लाइभ भिडियो
बहुप्रतीक्षित युरोपकै पहिलो नेपाली कलात्मक प्यागोडा शैलीको शिवमन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा पूर्ण वैदिक प्रकृयाबाट लगातार तीन दिनसम्म गरिनेछ । बेलायतवासी गुरु चिरञ्जीवी ढकाललगायत अन्य विद्वान् गुरुहरूको सहभागितामा सो परम्परा गरिने छ ।
दैनिक पूजा आराधनाका साथै भजन कृतन एवम् नौमती बाजागाजासहित धुमधामका गरिने उक्त कार्यक्रमका लागि संरक्षक एवम् पूर्व अध्यक्ष रोहितकुमार गुरुङ, महासचिव विक्रम भट्टराई, ट्रस्टी शुष्मा गुरुङ, ट्रस्टी सुनीत जैन, कोषाध्यक्ष हरि भट्टराई, काउन्सिलर तथा ट्रस्टी जीव बेलबासे लगायतको संयोजक समिति बनाइएको महासचिव बिक्रम भट्टराईले बताए।
कोभिड १९ का कारण उत्पन्न अप्रत्याशित परिस्थिति, सनातन वैदिक परम्परा र मान्यताहरू साथै स्थानीय सरकारी निकायहरूका विधि विधानका परिधिहरुलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने हुनाले तदनुरूप नै कार्यक्रमलाई सक्दो छोटो र प्रभावकारी बनाउने कोशिश गरिएको आयोजकले बताएका छन् ।
शिवमन्दिर अल्डरसटका निमित्त स्थापनाकालदेखि मन, वचन र कर्मले सहयोग, सद्भाव र सहकार्य गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई उक्त तीन दिवसीय प्राण प्रतिष्ठा तथा समुद्घाटन कार्यक्रममा उपस्थित भएर आराध्यदेव श्रीमहादेवको आशीर्वाद लिन र कार्यक्रमको शोभा बढ़ाइदिनुहुन आयोजकले अनुरोध गरेका छन्।
हेरौं तस्वीरहरु












