काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिनिधिसभा भंग गर्ने अधिकार नभएको स्वीकार गरेका छन् ।
काठमाडौँमा शुक्रवार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै बेलायतको उदाहरण दिदै घुमाउरो भाषामा संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको भएपनि आफू बाध्य भएर संसद् विघटन गर्नुपरेको संकेत गरे ।
बेलायतमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार कहीँ कतै नलेखिएको भएपनि प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव गरेको उनको भनाई छ ।
‘संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भयो भने संसद् विघटन गर्छ।’ उनले भने, ‘बेलायतमा लिखित संविधान छ्रैन, अथवा प्रधानमन्त्रीले संसद् विघटन गर्ने लेख्या छैन । लेखेकै छैन कतै । प्रकारान्तरले पनि । तर अस्ति भर्खरै प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव गराउनुभयो । यसरी प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ काम गर्न दिइएन भने ।’
प्रधानमन्त्रीलाई संविधानमा संसद् विघटन गर्ने अधिकार नलेखिएको स्वीकार गर्दै ओलीले प्रधानमन्त्रीले काम गर्न नपाएको खण्डमा संसद् भंग गर्न पाउने संकेत गरे ।
प्रधानमन्त्रीले आफू लोकतन्त्र ल्याउनको निम्ती संघर्ष गरेको भन्दै प्रचण्ड नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे तर्फ संकेत गर्दै भने, ‘हिजो कसैले लैनचौरको बाटो हिड्दै गर्दा भन्दै थिए रे, केपी ओलीले आज राजतन्त्र घोषणा गर्छ भनेर ,जस्ले आधादशक भन्दा बढी लोकतन्त्रको लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’
लामो समयसम्म लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र कसैले खोस्न नसक्ने भन्दै यसको कार्यान्वयन गरेर अघि बढ्ने बताए ।
प्रधानमन्त्री ओलीले निर्वाचन गर्दा देश संकटमा नजाने तर केही मान्छेहरुले कुनामा बसेर अरुको लागि काम गर्दा देश संकटमा पर्ने भएको भन्दै निर्वाचन गर्दा देश संकटमा नजाने दावी गरे ।






