पहिलो पटक बाइबल बिना शपथ लिने नास्तिक प्रधानमन्त्री

स्पेनका नव निर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेथले बाइबल बिना नै शपथ ग्रहण गरेका छन् । स्पेनको आधुनिक इतिहासमा पहिलो पटक इसाइहरुको धार्मिक ग्रन्थ बाइबल वा ‘क्रुसिफिक्स’ बिना नै उनले शपथ लिए किनकि उनी नास्तिक हुन् ।

स्पेन समाजवादी नेता पेड्रो सान्चेथलाई त्यहाँका राजा फेलिपिलेले शपथ दिलाएका छन् ।

अविश्वासको मतपछि पदबाट हटाइएक अनुदारवादी नेता मारिओनो राखोई पनि सो शपथ ग्रहण कार्यक्रममा उपस्थित थिए ।

शपथका क्रममा उनले देशको संविधानको रक्षा गर्ने बाचा गरे ।

अब प्रधानमन्त्रीको बाँकी रहेको दुई वर्षको कार्यकालका लागि उनी पदमा रहन पाउनेछन् तर संसद्‍मा उनको दलको एक चौथाइ सिट मात्र छ ।

आफ्नो मन्त्रिमण्डलमा कसलाई सामेल गराउने भनेर सान्चेथले विचार गरिरहेका छन् ।

उनका पूर्ववर्ती राखोयलाई भ्रष्टचारको अभियोगमा पदबाट हटाउनका लागि सान्चेथले बास्क तथा क्याटलान राष्ट्रवादीहरूसँगै छ अन्य दलको समर्थन पाएका थिए ।

को हुन् पेन्ड्रो ?

पेन्ड्रोको जन्म स्पेनको राजधानी मेड्रिडमा सन् १९७२ को फेब्रुअरी २९ तारिखमा भएको हो । उनले आफ्नो पढाई केमिलो जोस सेला युनिभर्सिटीबाट गरेका हुन् ।

पेन्ड्रो एक अर्थशास्त्री र बास्केटबल खेलाडी पनि हुन् ।

४६ वर्षका सान्चेथ सन् २०१४ मा स्पेशनिश सोसलिष्ट पार्टीका प्रमुख बनेपछि चर्चामा आएका हुन् ।

त्यसपछि उनले पार्टीलाई एक गर्ने र समाजवादीलाई पुनः सत्तामा भित्र्याउने बचनसहित चुनाव जिते ।

सोसलिष्ट पार्टीमा संलग्न हुनुअघि उनी म्याड्रिड सिटी काउन्सिलमा काउन्सलरको रुपमा कार्यरत थिए ।

सन् २०१५ र १६ मा उनले दुई पटक चुनाव हारे । यसकारण उनले पार्टी प्रमुख पद छोड्नुपरेको थियो तर केही महिना पछि नै उनका पार्टीका सदस्यले उनीमाथि विश्वास गरेर पुनः एक पटक पार्टी प्रमुख बनाए ।