एनआरएनए ओसनिया क्षेत्रीय संयोजकमा दिनेशराज जोशीको उम्मेद्वारी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) ओसनिया क्षेत्रीय संयोजक पदमा अष्ट्रेलियाका एनआरएनए अभियन्ता दिनेशराज जोशीले उम्मेद्वारी घोषणा गरेका छन् ।

उनले एनआरएनएमा आफूले लामो समयदेखि मिहेनत गर्दै आइरहेको भन्दै अब संयोजक पदमा भिड्न लागेको बताए । जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक समेत रहेका प्रखर वक्ता समेत रहेका उनी अष्ट्रेलियामा हुने विभिन्न कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागि हुने गरेका छन् ।

सामाजिक तथा पार्टीगत कामहरुमा पनि सक्रिय उनले अबको एनआरएनए ओसनियाको नेतृत्व हाँक्ने अवसर दिन आग्रह गरेका छन् । उनी एनआरएनएमा करिब १५ बर्षदेखि विभिन्न पदमा रहेर नेतृत्व प्रदान गरेका छन् । अझ केही काम गरेर यो समाज अनि आफ्नो मातृभूमिलाई योगदान पुर्याउने उद्धेश्यका साथ चुनावमा होमिन लागेको बताए ।

जोशीले ‘मेरो होइन हाम्रो अभियान, गुनासा, आलोचना, आजको आवश्यकता’ नाराका साथ एनआरएनएलाई साझा बनाउन सकिने बताएका छन् । जोशीले यसअघि एनआरएनए अष्ट्रेलियाका सल्लाहकार तथा आईसीसी सदस्यको रुपमा समेत एनआरएनएमा काम गरेका थिए । त्यतिमात्र नभएर नेपाल र नेपालीहरुको लागि हुने विभिन्न सहयोगात्मक कार्यहरुमा पनि उनी संलग्न हुने गरेका छन् ।