बेलायतमा यस्तो देखियो १२ औं नेपाली मेला (फोटो फिचर)

लण्डन । नेपाली कला, संस्कृति र भेषभूषा झल्काउने बेलायतको एउटा वृहत नेपाली मेला आइतबार केम्पटन पार्क रेस कोर्स लन्डनमा सम्पन्न भएको छ ।   तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त आयोजनामा गरेको १२ औं संस्करणको नेपाली मेलाको भव्य रुपमा सम्पन्न भएको छ ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न मेलाको सहकार्य नेपाली दूतावास लण्डनले गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मी,गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा मेलाको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवद्र्धनमा योगदान र्पुयाइरहेको बताए । उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

भिडियो

https://www.facebook.com/londonnepalnews/videos/4345599272173202

उनले नेपाली मेला आगामी दिनम भव्य बनाउनका लागि रचनात्मक सुझाव दिन नेपालीहरुलाई अपील गरे । आगामी कार्यक्रमअघि नै सामूहिक छलफल गरेर सल्लाह, सुझाव लिने योजना राजदूत रेग्मीले सुनाए ।

औपचारिक कार्यक्रम समापनको क्रममा अध्यक्ष हित काजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए । अध्यक्ष  गुरुङले नेपाली मेला तमुधिं युकेको मात्र नभई युकेबासी सम्पूर्ण नेपालीवासीको साझा उत्सव रहेको बताए ।

तमुधिं यूकेका महासचिव परशु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

दुई हजार भन्दा बढी दर्शकको सहभागिता रहेको मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिएको थियो ।

डेढ दर्जन संघसंस्थाले विभिन्न झांकी र नृत्य प्रस्तुत गरेको मेलामा सर्वोत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी यूकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, ऐम्बेसडर कप र एनआरएनए यूके कप जित्यो ।

दोश्रो पुरस्कार चार भन्ज्याङ तमु समाज यूकेले ७ सय पाउन्ड पायो । तेस्रो पुरस्कार किरात राई यायोक्खा यूकेले ५ सय पाउन्ड पायो । उनीहरुको नेपाली मेलामा पहिलो सहभागिता थियो ।

झांकीतर्फ सिक्लेस पार्चे कम्युनिटी यूके र चार भन्ज्याङ तमु समाज यूके क्रमशः प्रथम, द्वितीय भएर ५ सय र ३ सय पाउन्ड पाए । नृत्यमा पनि सिक्लेस टिमले नै जितेर ५ सय पाउण्ड र दोस्रो भई किरात राई यायोक्खाले ३ सय पाउन्ड प्राप्त गरेको छ ।

मेलामा करिब दुई दर्जन नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गरेका थिए ।तमुधिं यूकेले सन २००९ देखि हरेक वर्ष हुँदै आएको छ।

कार्यक्रमको फाइनलको पूरा भिडियो हेर्नुहोस्: 

https://www.facebook.com/londonnepalnews/videos/2918472121760673

कार्यक्रममा बेलायतवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङद्वारा संकलित, सम्पादित ‘बेलायतमा नेपाली गीत’ पुस्तक विमोचन गरिएको थियो ।

कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ लगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए ।