काठमाडौं–प्रधानमन्त्री प्रचण्डले नवनियुक्त मन्त्रीहरुलाई कार्यकालको पूर्ण सफलताको लागि बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेपाली कांग्रसको तर्फबाट मन्त्री भएका १३ जनालाई कार्य सफलतासँगै बधाई दिएका हुन् ।
कांग्रसेका सभापति शेरबहादुर देउवाले साँझ मन्त्रीहरुको नाम प्रधानमन्त्रीसमक्ष बुझाएपछि आज शितल निवासमा १३ मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराइएको थियो ।
उक्त कार्यक्रममा सामूहिक तस्बिर खिचाउँदै प्रधानमन्त्रीले बधाई दिएका हुन् ।
माओवादी केन्द्रसँगको गठबन्धन सरकार बनेको २३ दिनपछि सत्तासाझेदार कांग्रेसले सरकारमा पठाउने थप मन्त्रीको नाम टुंगो लगाएपछि आज सपथ भएको हो ।
कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्त, तीनवटै सुरक्षा निकायमा प्रमुख, मुख्य सचिव डा सोमलाल सुवेदी र नेपाल सरकारका विशिष्ट अधिकृतहरुको सहभागिता रहेको थियो ।
यसअघि कांग्रेसका दुई मन्त्रीले शपथ लिइसकेका छन् । साउन १९ गते प्रधानमन्त्री चुनिएको भोलिपल्ट कांग्रेसका तर्फबाट २ मन्त्री निधि र लेखक मात्रैले शपथ लिएका थिए ।
पौडेल पक्षले १३ मन्त्रालयमध्ये पाँच मन्त्रालय पाउनुपर्ने दाबी नछाडेपछि बुधबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।
को–को बने मन्त्री
शेरबहादुर देउवा पक्षबाट
अर्जुननरसिंह केसी, सहरी विकास मन्त्री
प्रकाशशरण महत, परराष्ट्र मन्त्री
बालकृष्ण खाँड, रक्षा मन्त्री
जीवनबहादुर शाही, पर्यटन मन्त्री
केशवकुमार बुढाथोकी, सामान्य प्रशासन मन्त्री
सूर्यमान गुरुङ, श्रम मन्त्री
रामचन्द्र पौडेल पक्षबाट
सीतादेवी यादव, शान्ति तथा पुनर्निर्माण मन्त्री
दीपक गिरी, सिँचाइ मन्त्री
रोमी गौचन, थकाली वाणिज्य मन्त्री
नवीन्द्रराज जोशी, उद्योग
हृदयराम थानी, गरिबी निवारण तथा सहकारी मन्त्री
कृष्णप्रसाद सिटौला समूहबाट
गगन थापा, स्वास्थ्यमन्त्री
खुमबहादुर खडका समूहबाट
शंकर भण्डारी, वन मन्त्रालय






