Update : त्रिशुलीमा बस खस्यो, २१ जनाको मृत्यु

काठमाडौं–रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै त्रिशूलीमा खसेको छ ।

ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट १०० मिटर तल त्रिशुली नदीमा खसेर हो ।

दुर्घटनामा २१ जनाको मृत्यु भएको प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृतकमा १९ जना पुरुष र दुई महिला रहेको र १७ जना घाइते रहेका छन् ।

घाइतेहरुलाई भरतपुर अस्पताल चितवन लगिएको प्रहरीले बताए ।

प्रहरीका अनुसार घटना राती २ देखि साढे २ को बीचमा भएको थियो । मृतकको सनाखत हुन बाँकी छ ।

गस्तीमा निस्किएको प्रहरी टोलीले बस तैरिरहेको अवस्थामा देखेको हो । बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

बसमा कम्तीमा ४० यात्रु रहेको र उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।