लन्डन । बेलायतमा बसोबास गर्ने भूतपूर्व गोर्खा परिवारलाई लक्षित गर्दै कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेशनलद्वारा आयोजना गरिएको समर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
फादर्स डे को अवसर पारेर जुन २१, २०२६ मा साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले सामाजिक एकता, पारिवारिक सम्बन्ध तथा मानसिक स्वास्थ्य सुदृढीकरणमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत सिनियर सिटिजनहरूका लागि विशेष जानकारीमूलक सभा समेत आयोजना गरिएको थियो। प्रमुख अतिथिका रूपमा सहभागी भएका पूर्व गोर्खा लेफ्टिनेन्ट मोतीलाल थापाले आफ्ना अनुभव, जीवन भोगाइ तथा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण जानकारीहरू सहभागीहरूसँग साझा गरेका थिए। उनले बुढेसकालमा स्वास्थ्यप्रति सचेत रहनुका साथै सक्रिय सामाजिक जीवन बिताउनुपर्नेमा जोड दिएका थिए।
कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेशनलद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा आयोजक क्यानका डा. बालाराम ढकालले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै समुदायको एकता र स्वास्थ्य प्रवर्द्धनमा यस्ता पहलहरू आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी अतिथिहरूमध्ये बेलायतस्थित नेपाली समुदायका बौद्धिक व्यक्तित्व आर. के. त्रिपाठी तथा राष्ट्रवादी नेपाली संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले आफ्नो धारणा व्यक्त गर्नुभयो। उहाँहरूले यस्ता कार्यक्रमहरूले बेलायतमा बसोबास गर्ने नेपाली समुदाय, विशेषगरी पूर्व गोर्खा परिवारहरूलाई एकताबद्ध गर्न तथा साझा लक्ष्यतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।”
फादर्स डे को महत्वबारे बोल्दै एनआरएन यूकेका प्रमुख संरक्षक डेभिड गुरुङले भावुक मन्तव्य व्यक्त गरेका थिए। उनले बाबुको भूमिकाको सम्मान गर्दै परिवार र समाजमा बुबाको योगदानको कदर गर्नुपर्नेमा जोड दिए। साथै, उनले भूतपूर्व गोर्खा परिवारप्रति आफ्नो साथ र सहयोग सधैं रहने उल्लेख गर्दै “आपत परे मलाई सम्झिनुहोस्” भन्ने सन्देश दोहोर्याएका थिए, जसले कार्यक्रममा सहभागीहरूलाई भावुक बनाएको थियो।
कार्यक्रमलाई अझ आकर्षक बनाउन चर्चित दोहोरी गायक बालचन्द्र बरालले सांगीतिक प्रस्तुति दिएका थिए। उनका प्रस्तुतिहरूले सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमलाई उत्साहपूर्ण र जीवन्त बनाएको थियो।
आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको थियो। साथै, भविष्यमा भूतपूर्व गोर्खा समुदायलाई एकीकृत गर्दै नियमित भेटघाट, अनुभव आदान–प्रदान तथा स्वास्थ्य तथा सामाजिक गतिविधि सञ्चालन गर्न सकिने “गोर्खा कम्युनिटी हब” स्थापना गर्ने लक्ष्यसमेत राखिएको जनाइएको छ।
यस प्रकारका कार्यक्रमहरूले भूतपूर्व गोर्खा परिवारबीच आपसी सम्बन्ध मजबुत पार्नुका साथै सामाजिक सद्भाव, मानसिक स्वास्थ्य तथा जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।






