पोखरा- नेकपा (एमाले)का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री र रक्षामन्त्री भीम रावलले मधेसी मोर्चाले गर्ने अबका कुनै पनि नाकाबन्दी र आन्दोलनलाई मधेसकै जनताले साथ नदिने बताउनुभएको छ ।
नेकपा (एमाले) कास्कीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नयाँ संविधानले कसैप्रति विभेद नगरेकाले मोर्चाले गर्ने जुनसुकै आन्दोलनको विरोध मधेसी जनताबाटै सुरु हुने दाबी गर्नुभयो ।
अनेकन बखेडा झिकेर आन्दोलनका नाममा नेपाली जनताको जनजीवन अस्तव्यस्त पार्ने र देशमा असहज अवस्था सिर्जना गर्ने जोकोही समूहले गर्ने आन्दोलन र हडताललाई कडाईका साथ कारबाही गरिने जानकारी दिँदै उहाँले सीमा नाकापारीबाट सुरक्षाकर्मीमाथि ढुङ्गामुडा गर्नेलाई देशद्रोहीको संज्ञा दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि गर्ने चीन भ्रमणका क्रममा नेपालका उत्तरतिरका सबै नाका खोलिने, एक तिहाई इन्धनको आपूर्ति र पारवहन सुविधाका बारेमा समेत सम्झौता हुने जानकारी गराउँदै उहाँले त्यस भ्रमणमा दुई देशबीचका अन्य आर्थिक एजेण्डामा समझदारी हुने विश्वास व्यक्त गर्नुभयो ।






