राजनीतिक नेतृत्व सहि भएमा मात्रै समृद्धि संभव : बाबुराम

वालिङ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्व सहि भएन भने मुलुकको विकास हुन नसक्ने बताएका छ । उनले नयाँ शक्ति पार्टी, नेपाल स्याङ्जाले शुक्रबार वालिङमा गरेको समृद्ध नेपालका लागि आर्थिक विकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

‘मुख्य कुरा राजनीतिक नेतृत्व हो, देशको नेृतत्वमा सहि मान्छे भएन भने विकास संभव हुँदैन । नारा लगाएर मात्र हुन्थ्यो भने पञ्चायत कालमा पनि विकासको मुल फुटाउने कुरा भएकै हो । राजा महाराजले पनि त्यही कुरा गरेकै हुन् । र, कांग्रेस एमाले माओवादी सबैले पनि भनेकै हुन् । तर विकासको उपयुक्त मोडेल अवलम्बन गर्न नसक्दा विकास संभव भएन । नारामा मात्रै सीमित भयो ।’ उनले भने ।
उनले नेपालको परिवेश सुहाउँदा विकासको मोडेलले मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउँदै विश्वमा प्रचलनमा रहेको पूँजीवादी र समाजवादी दुई मोडलबाट माथि उठेको विकासको मोडेल नै नेपालको लागि वैकल्पिक मोडेल हुने बताए । भने, – ‘यो त्यस्तो विकासको मोडेल हुनेछ, जसमा नीजि स्वतन्त्रता पनि कायम रहने छ र राज्यले पनि कल्याणकारी भूमिकासहितको दायित्व निर्वाह गर्नेछ’ नेपालको आर्थिक विकास र समृद्धिका लागि साँच्चिकै यहाँको परिवेश सुहाउँदो विकासको मोडेल जरुरी रहेको बताउँदै उनले भने –‘विकासका लागि छाडा पूँजीवादी मोडेल पनि होइन र नोकरशाही प्रकारको तानाशाही मोडेल पनि होइन बरु हामी दुवैबाट माथि उठेको विकासको मोडेल खोज्दैछौं ।’ विश्वमा चलेका विकासका दुई मोडेलको बारेमा चर्चा गर्दै उनले भने, ‘पूँजीवादी मोडेल व्यक्तिकेन्द्रीत हुने र त्यसमा व्यक्तिको समृद्धि भएमा समाज र मुलुकको समृद्धि हुने कल्पना गरिन्छ । परिणामतः त्यसमा केही मुठीभर व्यक्तिहरु धनी हुन्छन् र अधिकांश गरिब हुन्छन् ।’
त्यसैगरी राज्यकेन्द्रीत समाजवादी मोडेलले निरपेक्ष गरिबी घटाउन मद्दत गरे पनि त्यसले मुलुकको समष्टिगत विकास गर्न नसक्ने उहाँको जोड थियो, उनले भने, ‘अर्को समाजवादी मोडेलमा साधन र स्रोतलाई राज्यले नियन्त्रण गर्दछ र त्यसलाई गरिबका लागि राज्यले वितरण गर्नुपर्छ भन्ने मान्यता राख्छ । तर, यसरी गरिने वितरणले मात्र विकास संभव हुन सक्दैन ।’ उनले विश्वमा प्रचलित यिनै दुई विकासको मोडेलको बिचबाट नयाँ मोडेल निर्माण गर्नुपर्ने बताउनुभयो ।–‘यी दुई वटा मोडेलको बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बहस छ । यी दुवै मोडेलका राम्रा र नराम्रा पक्षहरु देखिए । दुवै मोडेलमा सीमाहरु देखापरे । र यसको विकल्पको रुपमा सामाजिक लोकतान्त्रिक मोडेलको रुपमा वीपीले नयाँ मोडेल अवलम्बन गर्न खोजे, तर व्यवहारमा त्यो लागु हुन सकेन र अन्ततः त्यो पनि उदारवादी मोडेलकै रुपमा परिचत बन्यो ।’

उनको भनाई थियो –‘त्यसैले नयाँ मोडेलको कुरा गरेको हो जहाँ व्यक्तिको स्वत्व पनि रहन्छ र सरकारको भूमिका पनि बलियो रहन्छ’ ।