शरणार्थी शिविरमा फैलिएको हैजाबाट दशको मृत्यु

kenya 1नैरोबी- केन्यामा रहेको सोमालियाली नागरिकको शरणार्थी शिविरमा फैलिएको हैजाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ ।

केन्याको नैरोबीमा सोमालियाली नागरिकको शरणार्थी शिविर रहेको छ । सो शिविरलाई विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरका रुपमा लिइन्छ ।

गएको नोभेम्बर महिनामा हैजाको प्रकोप फैलिएको थियो । सो प्रकोपका कारण अहिलेसम्ममा १० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।

नैरोबीको उत्तरपूर्वी क्षेत्र दबाबमा सोमालियाली शरणार्थीहरुको बसोबास छ । सो शिविरमा करिब तीन लाख ५० हजार सोमालियाली नागरिक बस्ने गरेका छन् ।

उक्त शिविरको रेखदेख गर्ने गरेका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसिआरका अधिकारी युशुफ अहमदले सो जानकारी दिएका छन् ।

ती अधिकारीले सहायताकर्मीहरुको सहयोगमा उक्त प्रकोपको नियन्त्रणको प्रयास जारी रहेको जानकारी पनि दिएका छन् ।

उक्त शिविरमा धेरै सङ्ख्यामा नागरिक भएकाले खानपानमा सरसफाई हुन नसकिरहेको तथा बसाई नै अत्यन्तै अव्यवस्थित पनि भएकोले यस्तो खतरा उत्पन्न भएको उनले जानकारी दिए ।

उनका अनुसार उक्त शिविरमा सरसफाइको काम थालिएको छ र शरणार्थीहरुलाई पहिलो चरणमा सावुन र सफा पानी वितवरणको व्यवस्था मिलाइएको छ ।

यस अघि पनि सो शिविरमा हैजाको प्रकोप फैलिएको थियो । त्यसका कारण कैयौँ नागरिकको ज्यान गएको थियो ।

विशेषगरी निकै नै साँघुरो बसाई र सरसफाइका लागि न्युनतम वातावरण पनि नबनाउँदा यस्तो अवस्था आएको विगतमा पनि शरणार्थीको रेखदेखमा खटिएका राष्ट्रसंघीय शरणार्थी अधिकारीहले जनाएका छन् ।