लण्डन । लण्डनको प्लमस्टिडस्थित हिन्दू नेपालीहरुको पवित्र मन्दिर मात्र नभइ नेपालीहरुको धर्मको केन्द्र रहेको पशुपतिनाथ मन्दिरको अध्यक्षमा दासुराम पाण्डे निर्वाचित भएका छन् । चार्ल्टनमा आइतबार सम्पन्न मन्दिर व्यवस्थापन समितिको अधिवेशनले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 
नवनिर्वाचित अध्यक्ष पाण्डे मन्दिरको स्थापना काल देखि नै सक्रिय एक अभियन्ता एवम् ट्रस्टी हुन् । मन्दिरको कार्यसमितिमा उनले कोषाध्यक्ष, सचिव हुँदै यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । एनआरएन यूकेमा समेत पाण्डेले कोषाध्यक्ष, सचिव र उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।
नयाँ कार्यसमितिमा सरिता पौडेल उपाध्यक्ष, जीवन वाग्ले सचिव, भोजराज कंडेल कोषाध्यक्ष र राधा खरेल सहसचिव निर्वाचित भएका छन् ।त्यस्तै, कार्यसमिति सदस्यहरुमा मन्जु गौतम, विष्णु ज्ञवाली, रामकृष्ण अर्याल, शालिक सापकोटा, अर्कराज तिम्सिना, रोमनाथ पाण्डे, हरिप्रसाद ओझा र राधा सापकोटा चुनिएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवम् मन्दिरका संस्थापक अध्यक्ष होम शर्माले शपथ खुवाएका थिए । मन्दिरका पूर्व अध्यक्ष बालजंग अर्याल, ट्रस्टी संयोजक कर्ण शाही, पन्डित निलहरि घिमिरे लगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिंदै निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
त्यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष नरेन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव कल्पना त्रिपाठीको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गोपाल अर्यालको आर्थिक प्रतिवेदन एवम् विधान समिति संयोजक कर्ण शाहीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्ताव छलफलपछि पारित गरिएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र कंडेलले साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिए ।मन्दिर भवनलाई फ्री होल्ड गर्ने लक्ष्यमा जुटेर आफ्नो कार्यकालमा सफल बनाउन पाएकोमा खुशी व्यक्त गर्दै उनले आफ्नो अवधिका सबै सहयात्रीप्रति आभार व्यक्त गरे । बेलायतमा नेपाली पहिचान बचाउने अभियानलाई निरन्तर राख्न आग्रह गर्दै उनले नेपाली संस्कृति जोगाउँदै मन्दिरको बृहत्तर विकासको निम्ती सबैमा आह्वान गरेका छन् ।
उनले मन्दिरको व्यवस्थापनमा रहदा नयाँ मूतिहरु थप्ने तथा मन्दिर परिसर लाई मर्मत र बेलायतकै प्रचलित मन्दिर बनाउने अभियानमा दत्तचित्त रहेर काम गरेका थिए ।






