लण्डन । गैर– आवासीय नेपाली संघ (एनआरएनए) यूकेको २०२१–२३ को लागि नवनिर्वाचित कार्यसमितिले शपथ लिएका छन् ।
२ अगष्ट सोमबारमा सम्पन्न भएको निर्वाचनको परिणाम शुक्रवार राति घोषणा गरिएको थियो । उक्त निर्वाचनबाट भारी मतका साथ अध्यक्षमा निर्वाचित प्रेम गाहा मगरसहितको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगका प्रमुख आयुक्त महेन्द्रराज कंडेलले शपथ खुवाएका हुन् ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले प्रमुख अतिथिको रुपमा उपस्थित हुँदै नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित शुभकामना दिएका थिए । एनआरएनएसँग मिलेर नेपाल–यूके सम्बन्ध विस्तारमा मिलेर काम गर्ने समेत उनले बताए ।
सो अवसरमा निवर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । शपथ पछि बोल्दै अध्यक्ष प्रेम गाहा मगरले आफूसहित नयाँ नेतृत्व चयन गर्न सहभागि सबै मतदाताहरुलाई धन्यवाद दिदै एनआरएनएको उद्धेश्य अनुरुप काम गर्न अघि बढ्ने बताएका थिए । सवै पक्षलाई समेटेर अघि बढ्ने भन्दै उनले एनआरएनएलाई संस्थागत विकास गर्न सहयोग गर्न समेत आग्रह गरे ।
अल्डरशटको एम्पाएर हलमा भएको उक्त कार्यक्रममा नवनिर्वाचित कार्यसमिति सहित उपस्थित सबैलाई गुल्मेली पञ्चेवाजासहिच पञ्चकन्याले स्वागत गरेका थिए । भने कार्यक्रम स्थलमा बधाई दिनेहरुको घुइँचो नै लागेको थियो ।
एनआरएनएका केन्द्रीय पूर्व उपाध्यक्ष एवं आईसीसी सल्लाहकार कुल आचार्य, एनआरएनए यूकेका निवर्तमान अध्यक्ष पूनम गुरुङ लगायतले बधाईसहित शुभकामना दिएका थिए । एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा अध्यक्ष पदकी उम्मेद्वार रोजिना प्रधान राईले शुभकामना व्यक्त गरेकी थिइन् । सोही अवसरमा संस्थाका पूर्व उपाध्यक्ष शेर सुनारलाई प्रमुख संरक्षक घोषित गरिएको थियो ।
हेरौँ तस्वीरहरु















































