एनआरएन यूकेमा धमाधम मतदान हुदै, यस्तो छ राति १० बजेसम्मको अपडेट :

लन्डन ।एनआरएनए युकेको नयाँ कार्य समिति चुन्न सोमबार दिउंसोदेखि मतदान जारी छ। मतदान भोलि (मंगलबार) दिउंसो सम्म चल्ने तर अन्तिम मत परिणाम भने बिहीबार मात्रै आउने निर्वाचन समितिले जनाएको छ।

पहिलोपटक अनलाइन प्रणालीमार्फत मतदान व्यवस्था गरिएकाले आम मतदातामाझ केही असजिलो र झन्झट महशुस भएको प्रतिक्रिया आएका छन्।यस निर्वाचनमा ११ हजार ३६३ मतदाता रहेका छन्।

एनआरएनए युके निर्वाचन समितिका निर्वाचन प्रमुख आयुक्त महेन्द्र राज कडेलले केहि मतदाताहरुले इमेल नपाएको र केहिले एउटा मात्रै इमेल पाएको गुनासो गरेको जनाए। “हामीले सबै गुनासोहरुको तत्काल जवाफ दिने प्रयास गरि रहेका छौं,” उनले भने। यदि कुनै मतदातालाई मतदान गराउन जिम्मा दिइएको ब्रिटीश कम्पनी, च्वाइस भोटिंग, बाट अहिलेसम्म पनि इमेल नपाएको भए निर्वाचन समितिलाई nrnaukelection2021@gmail.com वा निर्वाचन समितिको फोन नम्बर 07976260155 र 07760184482 मा खबर गर्न निर्वाचन समितिले अनुरोध गरेको छ।

सहारा युकेका संस्थापक अध्यक्ष तथा समाजसेवी नविन गुरुङले सोमबार बेलुकासम्म पनि आफुले इमेल नपाएको जनाएका छन्। निर्वाचन समितिले ३०० भन्दा बढी मतदाताहरुको इमेल बाउन्स व्याक भएको भन्दै उनीहरुको विवरण आफ्नो वेब साइट www.nrnaukelection.com मा सार्वजनिक गरेको छ।

यसैबीच एनआरएनए युकेमा दुइ पटक उपाध्यक्ष भै सकेका अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले बेलायतवासी एनआरएनएका सबै पन्जीकृत मतदाताहरुलाई कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर उत्साहपूर्वक मतदान गर्न आह्वान गरेका छन्।

अध्यक्ष पदका लागि प्रेम गाहा मगर,दीपक श्रेष्ठ र रोजिना प्रधान राई उम्मेदवार छन् भने इङल्याण्ड राज्यका लागि अध्यक्षमा लालबहादुर गुरुङ,र डा मीन रानाभाट निर्वाचनको मैदानमा छन् ।

कति प्रतिशत मत खसेको छ भन्ने प्रारम्भिक अनुमान समेत गर्न सकिएको अवस्था छैन ।

तीन पत्रकारलाई पर्यवेक्षकको जिम्मेवारी

यसैबीच एनआरएनए यूके राष्ट्रिय समन्वय समितिको निर्वाचन तथा राज्यसमितिहरुको निर्वाचन पर्यवेक्षणका लागि बेलायतमा कार्यरत तीन पत्रकारलाई जिम्मेवारी दिइएको छ । निर्वाचन समितिले सोमबार बिहान नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष ध्रुवराज अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगर र सल्लाहकार भगीरथ योगीलाई पर्यवेक्षक नियुक्त गरेको हो ।

पर्यवेक्षकहरुले प्रत्यक्ष र भर्चुएल माध्यमद्वारा निर्वाचनको अनुगमन गर्ने छन् । यसअघि एनआरएनए केन्द्रले केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डितलाई निर्वाचनको पर्यवेक्षक तोकेको थियो।