लण्डन । स्याङ्जा सहयोग समाज यूकेले बेलायतका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मी तथा उप–नियोग प्रमुख रोशन खनाललाई स्वागत गरेको छ ।
मंगलवार साँझ अनलाइन जुम मार्फत एक विशेष कार्यक्रम आयोजना गरि दुवैजनालाई स्वागत गरिएको हो । बेलायत आएर कार्यकाल सम्हालेको एक हप्तामा पहिलो पटक संस्थाले राजदूत रेग्मीलाई स्वागत सहित सम्मान गरेको हो ।
स्याङ्जा जिल्लामा जन्मेर हुर्केर मुख्यसचिव सम्म पुगेका रेग्मी बेलायतमा राजदूतको रुपमा आउँदा स्याङ्जा घर भएका बेलायतबासीहरु खुशी भएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै राजदूत रेग्मीले स्याङ्जा जिल्ला आफ्नो घर भएतापनि बेलायतमा सबै नेपालीको प्रतिनिधि भएर काम गर्ने बताए ।
बेलायतमा जिल्लाबासीलाई पाउँदा निकै खुशी भएको भन्दै उनले यूके निवासी सबै नेपालीहरुसँग मिलेर काम गर्ने बताए । नेपालीहरुले सरकारबाट पाउनुपर्ने सेवा सुविधाको विषयमा सबै पक्षसँग लविङ्ग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बिशेष अतिथी दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सम्पूर्ण बेलायत बासी स्याङ्जाली लाई धन्यवाद दिँदै समाजको प्रगतीको कामना पाउंदा धेरै खुशी लागेको बताइन् ।
कार्यक्रममा महिला कोअर्डिनेटर हम कुमारी गुरुङ, गोर्खाली आर्मीमा उच्च पदमा पुग्नुभएका लेफ्टेनेन्ट कर्नेल टोल खाम्चा,ट्रस्ट्रीहरु थर्क सेन, कुमार गुरुङ क्या प्रेम गुरुङ र राजन क्षेत्री,गैर आवासीय नेपाली संघ युकेको इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष लाल बहादुर (रबिन) गुरुङ्ग,कृष्ण भन्डारी लगायतले महामहिमको सफल कार्यकालको लागी कामना गर्दै स्याङ्जा सहयोग समाजबाट आवश्यक सहयोग सधैं रहिरहने कुरा बताए ।
कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार डेविड गुरुङले पूर्व गोर्खा सैनिक र समग्र नेपालीहरुको बारेमा जानकारी गराए ।उनले राजदूत रेग्मीको कार्यकाल निकै सौहार्दपूर्ण हुनेमा विश्वास व्यक्त गर्दै नेपाली समुदायको तर्फबाट सकारात्मक सहयोग गर्ने समेत बताए ।
संस्थाका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित सबैले प्रमुख अतिथि राजदूत रेग्मीलाई स्वागत गर्दै खुशी व्यक्त गरे ,अधक्ष्य गुरुङले राजादुतको सफलता देशको सफलता सँग जोडीएको हुने हुनाले सबैको सहयोग महामहिमलाई हुने र देश र जिल्लाको बिकासको लागी सधैं हातेमालो गर्ने गरी अघी बढने कुरा बताए ।
कार्यक्रमको सञ्चालन क्यान यूकेका निर्देशक एबम संस्थाका महासचिव डा.बलराम ढकालले गरेका थिए ।
करिब एक बर्ष अघि बेलायतमा कोभिड-१९ महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनकैवीच स्याङ्जा समाजको स्थापना तथा कार्यसमिति चयन गरिएको थियो ।स्याङ्जा जिल्लाबाट बेलायत आई बसोबास गरेका नेपालीहरुले आफ्नो जिल्लालाई सहयोग पुर्याउने उदेश्यले उक्त संस्था स्थापना गरेका हुन् ।






