बेलायतमा आमाले मनाए नारी दिवस

लण्डन । एशिएन महिला एशोसिएशन (आमा) युकेले विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । शनिबार भर्चुयल जुम मार्फत बिशेष कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

अहिले संसारभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण भर्चुअल मनाइएको कार्यक्रममा ‘आइए एम बेलमाया’ नामक वृत्तचित्र प्रर्दशन गरिएको थियो ।

यस बर्ष विश्वभर “चुज टु च्यालेञ्ज” नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको अवस्थामा आमाले विगतको भन्दा फरक ढंगले उक्त दिवस मनाएको हो । अहिले संसारभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण भर्चुयली मनाइएको सो कार्यक्रममा ‘आइए एम बेलमाया’ नामक वृत्तचित्र प्रर्दशन गरिएको थियो । गरिबीको रेखामुनी जन्मिएकी दलित परिवारकी बेलमाया नेपालीको जीवन कथामा आधारित वृत्तचित्र थुप्रै महिलाहरुको लागि प्रेरणाको श्रोत बन्न सक्ने सहभागीहरुको भनाई थियो । उक्त वृत्तचित्र आइतबार समेत प्रर्दशन गरिएको थियो ।

एशोसिएशनकी अध्यक्ष विभा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेसहारा लाश व्यवस्थापनमा महत्वपूर्व भूमिकामा जुट्दै आएवापत बीबीसीले यसबर्ष छनौट गरेको विश्वभरका १०० जना प्रभावशाली महिला भित्र पर्न सफल सपना रोका मगर, ब्रिटिश गोरखा आर्मीकी क्याप्टेन अंशु गुरुङ, वारिष्टर स्नेह शाक्य श्रेष्ठ लगायतले नेपाली महिलाहरुले भोग्दै आएको समस्या, गर्दै आएको संघर्ष, चुनौती, संभावना, उत्थान, अधिकार लगायतको बिषयमा आ–आफ्नो विचार राखेका थिए । उनीहरुले अझै पनि महिलाहरुलाई आफ्नो घरमा विभेद रहेको बताउँदै विभेदको अन्त्य घरैबाट हुनु पर्नेमा जोड दिए ।

आई एम बेलमायाकी निर्देशक सु कार्पेन्टर बेलायतबाट, सपना रोका मगर र बेलमाया नेपाली नेपालबाट सहभागी हुनुभएको कार्यक्रममा तमु धिं युके आमा समूहकी अध्यक्ष सिता गुरुङले सपना रोका मगरको उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले हौसला स्वरुप आमा समूहको तर्फबाट ५० हजार नेपाली रुपैयाँ सहयोग गरेको बताइन् ।

तमु धिं युके आमा समूहकी महासचिव यशोदा गुरुङले युवाहरुलाई कार्यक्रममा समावेश गरेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिइन् । त्यस्तै, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके आमा समूहकी नवनिर्वाचित अध्यक्ष उर्मिला गुरुङले आपूmहरुले बेलमाया नेपालीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

श्रद्धा गुरुङले संचालन गरेको उक्त जुम कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतकी अध्यक्ष प्रमिला लावुङ राईले आफ्नो प्रेरणादायी अनुभव सुनाइन् ।

वृत्तचित्र प्रर्दशनबाट ८०२ पाउन्ड रकम संकलन भएको र सो संकलित रकम मध्ये केही बेलमाया र केही रकम वृत्तचित्र निर्माण समूहलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागि हुने अतिथि तथा बृत्तचित्रको टिकट खरिद गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ ।

हेरौ आमा समूहले जारी गरेको प्रेस नोट जस्ताको त्यस्तै