लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको निर्वाचन शुरू भएको छ ।
सोमबार मध्यान्ह १२ बजेबाट मतदान शुरू भएको हो । यसअघि जुलाई ३१ अर्थात शनिवारको दिन चुनाव गर्नेगरी तयारी थालिएको भएपनि चुनाव शुरू हुनुभन्दा केही घण्टा अघिमात्रै दुई दिन पर सार्ने घोषणा निर्वाचन समितिले गरेको थियो ।
निर्वाचनको तयारी नपुगेको, मतदाता शिक्षा कार्यक्रम पूरा नभएको भन्दै मिति सोमबारलाई सारिएको थियो । नयाँ कार्यतालिका अनुसार आज सोमबार दिउसो १२ बजे मतदान प्रक्रिया शुरु भइ अगष्ट ३ मंगलबार १२ बजेसम्म हुनेछ । मत परिणाम भने बिहीबार ५ बजे आउने समितिले जनाएको छ ।
निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज कंडेलले शुक्रबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै मतदाताहरुलाई मतदान सम्बन्धि प्राविधिक प्रक्रिया बुझाउन पर्याप्त समय नभएको गुनासोलाई सम्बोधन गर्न तालिका परिवर्तन गरिएको जनाएका थिए ।
एनआरएनए यूके अध्यक्षमा प्रेम गाहा मगर, दीपक श्रेष्ठ र रोजिना प्रधान राईले, चुनाव लड्दैछन् । यसपटक कोभिड महामारीको कारण अनलाइन मार्फत मतदान गराउन लागिएको हो ।






