लन्डन – बेलायतमा हुर्कीरहेका गैरआवासीय नेपालीका सन्ततिहरूलाई नेपालसँग आबद्ध गराउने उद्देश्यसहित लन्डनस्थित नेपाली राजदूतावासले ‘वान चाइल्ड, वान प्लान्टः अ डे एट द नेपाल एम्बेसी’ कार्यक्रम आयोजना गरेको छ।
शनिबार बिहानै बेलायतका विभिन्न विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्ष उमेर समूहका नेपालीमूलका बालबालिका केन्सिङ्गटन प्यालेस गार्डेन्सस्थित दूतावास परिसरमा भेला भए । आफ्ना अभिभावकसंग भेला भएका बालबालिकाले रमाई रमाइ दूतावास परिसरमा फूल तथा बिरुवा रोपे ।
बालबालिकाहरूलाई राजदूतावास भ्रमण गराउनुका साथै नेपालप्रतिको लगाव अभिवृद्धि गर्ने, नेपाली संस्कृति र मूल्य मान्यताप्रति सचेत गराउने तथा वातावरणीय चेतना विकास गराउने उद्देश्यले सो कार्यक्रम राखिएको बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले जनाए ।
नेपाली दूतावास लन्डनका द्वितीय सचिव सन्जोग राईले संचालन गरेको कार्यक्रममा झन्डै ४० जना बालबालिकाको सहभागिता थियो।
यस्तो रचनात्मक कार्यक्रम आयोजना गरेकोमा बालबालिका तथा अभिभावकले दूतावासलाई धन्यवाद दिएका छन्।









