राष्ट्रपति डा रामवरण यादवले सबै राजनीतिक दललाई आफ्नो हट छाडेर वार्ताको टेबलमा बस्न आग्रह गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २४आँै स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो– “मैले सबै राजनीतिक दलका नेताहरुलाई भेटेको छु । असहमति धेरै टाढा देख्दिन । टाढा देख्छु एक अर्काप्रति विश्वासको कमी, जुन चाँडै अन्त हुनेछ भन्ने मैले ठानेको छु ।”
संविधान निर्माण र भ्रष्टाचार नियन्त्रणको सम्बन्ध पनि एकअर्कासँगै गासिएकाले जति ढिलो संविधान उति सङ्क्रमणकाल र अस्थिरता लामो हुने तथा कुशासन र भ्रष्टाचारले मौलाउने मौका पाउने हुनाले छिटो संविधान पनि भ्रष्टाचार अन्तको सहायक बन्न सक्ने राष्ट्रपति डा यादवले उल्लेख गर्नुभयो ।
राजनीतिक दलहरुको घोषणापत्र र संविधानसभा नियमावलीमार्फत यही माघ ८ गते संविधान दिने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै उहाँले कमिकमजोरीकै कारणले त्यो प्रतिबद्धता पूरा हुन नसकेर जनतामा केही निराशा छाएको बताउनुभयो ।
विगतबाट पाठ सिक्दै विगतका सम्झौता र समझदारीलाई आत्मसात् गर्दै र जनमतको पनि ख्याल गर्दै मुलुकको हितमा निर्णय गर्नुहुनेछ भन्दै उहाँले भन्नुभयो– “दलहरुले आफ्ना राजनीतिक स्वार्थभन्दा माथि उठ्दै गरिब नेपालीको मुहार हेर्दै नेपाल आमालाई सम्झँदै सहमति गर्नेछन् भन्ने मेरो विश्वास छ ।”
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकार र आयोगको मात्र हो भन्ने भ्रमलाई चिर्न आवश्यक रहेको बताउँदै उहाँले यो हामी सबैको साझा समस्या भएकाले साझा अठोट र प्रतिबद्धताका साथ भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्न आआफ्नो क्षेत्रबाट तत्परता र सक्रियता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले सुशासनका माध्यमबाट मुलुुकमा शान्ति र स्थायित्व कायम गर्दै नेपालमा लोकतान्त्रिक संविधान निर्माणको अनुकूल वातावरण तयार गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहयोग पु¥याइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “मुलुकको आर्थिक–सामाजिक विकासलाई तीव्र पारेर समृद्धितर्फ लैजाने सरकारको बृहत्तर उद्देश्यमा भ्रष्टाचार निवारणका कदममार्फत आयोगले ठूलो सहयोग पु¥याएको छ ।
सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नु भयो अख्तियार जस्तो भ्रष्टाचार नियन्त्रण र अनुचित कार्यको नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी प्राप्त संवैधानिक निकायले मुलुकमा सुशासन कायम गर्न ठूलो भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु ।
अहिले हाम्रो समाजमा सदाचार र नैतिक मनोबल गिरेको अवस्था रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो– “अख्तियार जस्ता संस्थाले देश र जनताको हितमा इमान्दारीपूर्वक काम गर्ने हरेक क्षेत्रका आदर्श व्यक्तिलाई सम्मानित गरेर उनीहरुको मनोबल उठाउन आवश्यक छ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो– “संविधान निर्माणको यस महायज्ञमा सरिक भएर नेपालको राजनीतिक, संवैधानिक, आर्थिक विकासमा सहभागी हुँदै नेपाली जनतालाई सुख, शान्ति र समृद्धितर्फ लैजाने ऐतिहासिक अभियानलाई सफल बनाउन संविधान सभाभित्र र बाहिरका समस्त राजनीतिक दलहरु सम्बद्ध नेतृत्वलाई हार्दिक अपिल गरेको छु ।
आयोगले भ्रष्टाचारविरुद्ध हाल सञ्चालन गरेका कार्यबाट सेवा प्रवाह र विकास निर्माण कार्यमा देखिएका अनियमितताहरु नियन्त्रण हुने अपेक्षा गरिएको बताउँदै प्रधानमन्त्री कोइरालाले आम सरोकार र जनताको बृहत्तर हितसँग गाँसिएका भ्रष्टाचारका विषयलाई कारबाहीको दायरामा ल्याउन आयोगले अझ सशक्त ढङ्गले काम गर्न आवश्यक छ भन्नुभयो ।
आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले समाजमा अनुशासन, सदाचार पद्धति, र नैतिक आचरण खस्कँदै गएको परिणमास्वरुप गैरकानुनी, अवान्छित र अनैतिक गतिविधि बढ्दै गएको यथार्थ हाम्रा सामु रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “सबै नेपाली जनताको साथ, सहयोग र समर्थन पाएका खण्डमा आयोगले भष्टाचार न्यून गर्ने मामिलामा उल्लेख्य प्रगति हासिल गर्नेछ ।”
आयोगका सचिव प्रेमकुमार राईले पूर्वाग्रह, बद्नियत र प्रतिशोधको भावनाबाट माथि उठेर सदाचार, निष्पक्ष र निर्भिकताका साथ आयोगले काम गरिरहेको जानकारी दिनुभयो ।
समारोहमा तीनजना पूर्व प्रमुुख आयुक्तहरु राधारमण उपाध्याय, मधुसुदनप्रसाद गोर्खाली र सूर्यनाथ उपाध्यायलाई सम्मान गरिएको थियो ।
आयोगको वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको कविता एवम् वतृत्वकला प्रतियोगिताका छात्र छात्रालाई सो अवसरमा पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरियो ।
समारोहमा छवटा पत्रिकालाई नगद पुरस्कारसहित कदरपत्र, दुईवटा पत्रिकालाई प्रशंसापत्र, छवटा टेलिभिजन च्यानललाई प्रशंसापत्र, दुईजना पत्रकार तथा अधियन्तालाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।
समारोहमा आयोगका आठजना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरियो ।
समारोहमा प्रधानमन्त्री कोइरालाले प्रमुख आयुक्त कार्कीद्वारा लिखित भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बहुआयामिकता, एक विश्लेषणात्मक पुस्तकको विमोचनका साथै आयोगको स्मारिकासमेत विमोचन गर्नुभयो ।






